धुलिखेल अस्पतालमा घुँडा र हिप प्रत्यारोपण अन्तर्राष्ट्रिय सेमिनार भएको छ। धुलिखेल अस्पताल, नेपाल अर्थोपेडिक एसोसिएसन, अष्ट्रेलियज नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसनको संयुक्त आयोजनमा भएको दुई दिने सेमिनारमा ४० जना अर्थोपेडिक सर्जरी चिकित्सक र ३० जना नर्सको सहभागिता थियो।
सेमिनारमा डा.वुलन्द थापा, डा.कुशराज श्रेष्ठ, डा दीर्घराज आरसी, डा अर्जुन लामिछाने, डा.दिपक श्रेष्ठ, डा. सुरेश पाण्डे, डा.श्रवण कुमार थापा, डा. कपिल मणि केसी, डा. ऋषि विष्ट, डा. सुमन बाबु मरहठ्ठा, डा. रवीन्द्र रेग्मी लगायतले आफ्नो ज्ञान तथा सिप बाँडेका थिए।
सहभागी डाक्टर तथा नर्सहरुलाई घुँडा र हिपको प्रत्यारोपण कसरी गर्ने ? कुन प्रविधि तथा सामाग्री प्रयोग गर्ने ? र, त्यसका सिद्धान्तका बारेमा जानकारी दिइएको थियो ।
सेमिनारमा बनावटी हड्डी प्रयोग गरेर सहभागीलाई त्यसमा अभ्यास पनि गराइएको थियो । अष्ट्रेलियाबाट १६ जनाको डाक्टर र नर्सहरुको टोलीले अष्ट्रेलियामा प्रयोग गर्ने प्रविधि तथा ज्ञान सीप सेमिनारमा आदानप्रदान गरेका थिए।
जेठ १६ देखि १७ गतेसम्म चलेको सेमिनारमा सहभागीहरुले सेमिनार निकै प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए।
नेपाल अर्थोपेडिक एसोसिएसनका अध्यक्ष डा.वुलन्द थापाले नेपालमा जोर्नी प्रत्यारोपणसम्बन्धी सेमिनार हुनु राम्रो भएको बताउँदै प्रभावकारी समेत भएको बताए । उनले यस्तो सेमिनार ठाउँ–ठाउँमा हुनुपर्ने धारणा राखे । उनले भने, ‘हाडजोर्नी खिइएका बिरामीको अन्तिम उपचार भनेको सल्यक्रिया नै हो । त्यसको लागि नेपालका डाक्टर नै सक्षम हुनुपर्छ । यो प्रयास हामीले लगातार गरिरहेका छौैं।’
उनले यस्ता निरन्तरको स्वदेशी तथा अन्तर्राष्ट्रिय सेमिनारले जोर्नी प्रत्यारोपणमा युवा सर्जनहरुमा रुची पैदा गर्ने उल्लेख गरे । डा थापाले नेपालमा दुई तिहाइ जनता गाउँमा बस्ने तर त्यसको उल्टो दुईतिहाइ डाक्टर शहरमा बस्न भएकाले गाउँका हाजजोर्नी बिरामीले उचित उपचार र ज्ञान नपाएको बताए।
‘ज्ञानले मात्र हुँदैन,’ उनले भने, ‘सीप पनि चाहिन्छ र त्यो हामीले सेमिनारमा डाक्टरहरुलाई बोन नै ल्याएर सिकायौं । जुन एकदम प्रभावकारी रह्यो।’
अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसनका महासचिव डाक्टर कुशराज श्रेष्ठले सेमिनार निकै प्रभावकारी भएको चारैतिरबाट राम्रो प्रतिक्रिया आएको बताए।
उनले भने, ‘नेपालमा यस्तो तालिम तथा छलफल पहिलोपटक भएकाले हामी निकै उत्साहित भएका छौं । आवश्यक परेको खण्डमा भोलीको दिनमा पनि यस्तै तालिमको व्यवस्था गर्छौं।’
यसैगरि धुलिखेल अस्पतालका हाड जोर्नी प्रत्यारोपण विशेषज्ञ डा रवीन्द्र रेग्मीले यस्तो सेमिनारबाट सिनियर डाक्टरबाट जुनियर डाकटरलाई हाडजोर्नी प्रत्यारोपणबारे ज्ञान दिने बताए।
उनले भने,‘यस्तो सेमिनारले युवा सर्जनहरुलाई जोर्नी प्रत्यारोपणमा रुची पैदा गर्ने र उनीहरुमार्फत नै बिरामीहरुलाई जोर्नीको उपचारबारे ज्ञान दिन्छ।’