सिन्धुली जिल्ला अस्पताल तथा आसपासका जिल्लाहरुका ५० जना भन्दा बढी चिकित्सक तथा नर्सहरुलाई इमर्जेन्सी तथा क्रिटिकल केयर म्यानेजमेन्ट सम्बन्धी प्रयोगात्मक तालिम प्रदान गरिएको छ । नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी मेडिसिनका प्रमुख डा. सञ्जय कार्की, क्रिटिकल केयर विभागका कोअर्डिनेटर डा. दिप्तेश अर्याल र इमर्जेन्सी पारामेडिक्स रमेश न्यौपानेले प्रयोगात्मक तालिम दिएका थिए।
बेसिक लाइफ सपोर्ट, इन्ट्युबेसन, स्वासप्रश्वासको ब्यवस्थापन, इमर्जेन्सीका आवश्यक उपकरणहरुको प्रयोग लगायतका सीपमूलक तालिमका लागि नेपाल मेडिसिटी अस्पतालले उपकरण, औजार तथा डमीहरुको ब्यवस्था गरी तालिम प्रदान गरेको थियो।
कायक्रमको प्रारम्भमा सिन्धुली नगरपालिकाका प्रमुख खड्ग खत्रीले सिन्धुली जिल्ला अस्पतालको विकास र विस्तार स्थानीय सरकारको प्रमुख प्राथमिकतामा रहेको र यसका लागि अस्पतालसँग सहकार्य गरी आगामी दिनहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु लागिपर्ने बताए।
कार्यक्रममा नेपाल रेडक्रस सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले सिन्धुलीका जनताहरुलाई सुलभ र गुणस्तरीय सेवाका लागि आफूहरुले एम्बुलेन्स तथा शववाहनको ब्यवस्था गरेको बताए।
सिन्धुली जिल्ला अस्पतालको क्षमता अभिवृद्धिका लागि आफूहरुले लामो समयदेखि प्रयास गरिरहेको र यसका लागि जिल्लाका सम्बद्ध निकायहरुबाट राम्रो सहयोग प्राप्त भइरहेको सिन्धुली जिल्ला अस्पतालका प्रमुख डा. सुमित्रा गौतमले बताइन्।
नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा सिन्धुलीलगायतका आसपासका अस्पतालहरुका चिकित्सकहरुका लागि जिल्लामै सीप तथा क्षमता अभिवृद्धि तालीमले ठूलो सहयोग पुगेको उनले बताए।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले अब सम्पूर्ण उपचार देशमै सम्भव भएको र त्यही सन्देशलाई सफलतापूर्वक लागू गर्न देशका सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुको सीप तथा क्षमता अभिवृद्धि गर्दै स्वास्थ्य सबै नेपालीहरुको पहुँचमा पुर्याउने अभियानमा आफूहरु रहेको बताइन्।
नेपाल मेडिसिटी अस्पतालले उपचारका लागि अब नेपालीहरुलाई विदेश जानु नपर्ने अवस्थाको सिर्जना गर्दै पूर्वाधार, प्रविधि र जनशक्तिको उत्कृष्ट ब्यवस्थापन गरी स्वास्थ्यलाई सबै नेपालीले धान्न सक्ने बताउन स्वास्थ्य बीमाका कार्यक्रमहरु लागू गरेको पनि बताए।
