बनियानी- झापामा १९ वटा खोप केन्द्रको भवन निर्माण हुने भएको छ। जिल्लाका १५ स्थानीय तहमा खोप केन्द्रको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलले जानकारी दिए।
उनका अनुसार मन्त्रालयले १९ वटा खोप केन्द्रको भवन निर्माणका लागि ३ लाखका दरले ५७ लाख रुपैयाँ उपलब्ध गराएको छ। 'गाउँपालिका र नगरपालिकाले जग्गाको व्यवस्थापन आफैँ गर्नुपर्ने व्यवस्था छ', अधिकृत पौडेलले भने, 'खोप केन्द्र बनाउन तीन लाख रुपैयाँ सिड मनी दिइएको छ।' कतिपय स्थानीय तहमा खोप केन्द्र निर्माण भइसकेको छ भने कतिपय स्थानीय तहमा निर्माणाधीन अवस्थामा रहेको उनले बताए।
यो वर्ष अर्जुनधारा नगरपालिकामा सबैभन्दा धेरै तीन वटा खोप केन्द्रको भवन बन्नेछ भने अन्य गाउँ/नगरपालिकामा एक-दुई वटाका दरले निर्माण हुने कार्यालयले जनाएको छ।
झापामा गत वर्षदेखि मात्र खोप केन्द्रको भवन निर्माण हुन लागेको हो। गत वर्ष स्वास्थ्य मन्त्रालयले २ लाख १० हजारका दरले १५ वटा खोप केन्द्रको भवन निर्माणका लागि रकम उपलब्ध गराएको थियो। १५ वटै खोप केन्द्रको निर्माण सम्पन्न भएर हस्तान्तरणसमेत गरिएको अधिकृत पौडेलले जनाए।
उपलब्ध रकममा स्थानीय तहले केही रकम थपेर खोप केन्द्र निर्माण गर्नुपर्ने छ। यसअघि बालबालिकालाई विद्यालय, स्वास्थ्य चौकी लगायतका स्थानमा खोप दिने गरिएको थियो। रासस