गोदावरी–११ स्थित बज्रबाराही सामुदायिक अस्पतालमा खोप लगाउन आउने बालबालिकाको संख्या बढ्दै गएको छ।
अस्पतालले दिने सेवामध्ये खोपमा बालबालिकाको चाप राम्रो रहेको अस्पतालका कार्यकारी कार्यक्रम निर्देशक गोशराज श्रेष्ठले बताए। चापागाउँ र त्यस आसपासका ठाउँमा बस्ती बढ्दै जाँदा र अस्पतालले गुणस्तर कायम गर्दा खोप लगाउने बालबालिकाको संख्या बढिरहेको हो। अहिले वार्षिक झण्डै रु एक ८०० जना बालबालिका अस्पतालमा खोप लगाउन आएका छन्।
अस्पतालमा आउने अरु रोगका बिरामीको संख्या घटिरहँदा खोप लगाउन आउने केही बढिरहेका छन्। उनी भन्छन्, ‘अस्पताल नजिकका मात्रै होइन टाढाबाट धाएरै आउने पनि धेरै छन्।’
अस्पतालले प्रत्येक सोमबार खोप कार्यक्रम सञ्चालन गर्दै आएको श्रेष्ठले बताए। अरु कतिपय स्वास्थ्य केन्द्रले महिनामा एक पटक मात्रै खोप कार्यक्रम सञ्चालन गर्छन्।
‘साता नै पिच्छे हुँदा पनि सेवाग्राही सेवा लिन आउने गरेका हुन्’ उनले भने। विगतमा खोपसम्बन्धी उजुरी नभएकाले पनि यहाँ आउने बढिरहेको उनी बताउँछन्।
अस्पतालले सन्तानलाई खोप लगाउन आउने अभिभावकलाई सन्तानको हेरचाह, जन्मान्तरलगायतका विषयमा समेत नियमित परामर्श दिँदै आएको छ। रासस