मेचीनगर नगरपालिकाले कुष्ठरोगीको संख्या यकिन गर्न स्वास्थ्यकर्मीलाई नगरपालिकाभर खटाउने भएको छ। स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सम्भावित व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ।
नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार वडाध्यक्ष र सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिएको हो। यही जेठ २३, २४, २५ र २६ गते घरघरै पुग्नका लागि नगरपालिकाले चार दर्जनभन्दा बढी सङ्ख्यामा स्वयमसेवकलाई तालीम दिनेछ। तालीम पाएका तिनै व्यक्तिहरु खोजपड्तालमा जानेछन्। खोजपड्ताल टोलीमा महिला र पुरुष दुवै हुनेछन्। टोलीले शङ्का लागेमा शरीरको पूरै जाँच गरी कुष्ठरोगको लक्षण पहिल्याउने बताइएको छ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने र मासु र स्नायु लट्ठिने भएकाले रोगीले उपचारमा बेवास्ता गर्दा कुष्ठरोग निवारणमा समस्या आइरहेको मेचीनगरकी स्वास्थ्य संयोजक शशिकला राई बताउँछिन्।
शरीरका विभिन्न अङ्गमा फुस्रो र नचिलाउने दाग आउनु, स्नायु लट्ठिनु, छाला वा घाउमा घोच्दासमेत नदुख्नु आदि यस रोगका लक्षण हुन्। झापा जिल्लामा ५ सय २१ जनाले कुष्ठरोगको औषधि सेवन गरिरहेको र नियमित औषधि सेवनबाट रोग निको हुने संयोजक राईले बताइन्। रासस