फेसबुकमार्फत एक युवकलाई यातना दिएको आरोपमा चिकित्सा शास्त्र अध्ययन संस्थानमा ( त्रिवि शिक्षण अस्पतालकी रेसिडेन्ट डाक्टर) विशेषज्ञता हासिल गरिरहेकी एक डाक्टर पक्राउ परेकी छिन्। डा अस्मिता अधिकारी नामकी डाक्टरलार्इ पिडित युवकले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको साइबर सेलले पक्राउ गरेको हो।
उनीमाथि नक्कली फेसबुक आइडीहरु बनाउँदै अष्ट्रेलियामा रहेका एक नेपाली युवकविरुद्ध अश्लिल कुराहरु लेखेर चरित्रहत्या गर्ने गरेको आरप लागेको प्रहरीले जनाएको छ।
उनले युवकलार्इ मात्रै नभइ उनीहरुका आफन्तलार्इ समेत फेसबुकमा अश्लिल म्यासेज पठाउने गरेको देखिएको प्रहरीले जनाएको छ।
मंगलबार पक्राउ परेकी उनलाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान अघि बढाएको छ। थप छलफलका लागि दुवै पक्षलाई बुधबार पनि बोलाइएको अपराध महाशाखाका एक अधिकारीले बताए।
पक्राउ परेपछि डा अधिकारीले उक्त अपराध स्वीकार गरेको बुझिएको छ।
आफन्तले प्रहरीलार्इ पठाएको फेसबुक म्यासेजमा अष्ट्रेलियामै रहेकी एक नर्ससँग ती युवकको 'सम्बन्ध' रहेको भन्दै गालीगलोज गरिएको छ। गाली गर्ने क्रममा ती नर्स आफ्नो 'गर्लफ्रेन्ड' रहेको समेत दाबी गरिएको छ। डा अधिकारी पनि महिला र ती नर्स पनि महिला भएकाले प्रहरीले यसमा थप अनुसन्धान गरिरहेको छ।
पीडित परिवारले भने आफूलार्इ केही महिनादेखि विभिन्न अपरिचित फेसबुक आइडीबाट अश्लिल म्यासेज पठाएर यातना दिएको भन्दै उनलाई साइबर क्राइम अपराधमा कडा कारबाही गर्न माग गरेको छ।