फेसबुकमार्फत एक युवकलाई यातना दिएको आरोप लगाइएकी त्रिवि शिक्षण अस्पतालकी रेसिडेन्ट डाक्टर अस्मिता अधिकारीले आफूलार्इ फसाइएको बताएकी छिन्। आफ्नो नाममा कसैले नक्कली फेसबुक आइडी बनाएर गलत म्यासेज पठाएको उनले बताएकी हुन्।
डा अधिकारीले आफू र आफ्नो परिवारलाई अश्लिल म्यासेज पठाएको भन्दै अष्ट्रेलिया निवासी एक युवकले महानगरीय अपराध महाशाखामा उजुरी गरेका थिए । सोही आधारमा प्रहरीले उनलाई मंगलवार हिरासतमा लिएको थियो । बुधवार पिडित पक्षलाई बोलाएर प्रहरीले उक्त घटना बारे यथार्थ बुझेर डा अधिकारीलाई छाडिदिएको छ ।
त्यसपछि स्वास्थ्यखबरसँग कुरा गर्दै डा अधिकारीले आफ्नो नाममा नक्कली फेसबुक आइडी प्रयोग गरेर फसाइएको बताएकी हुन् ।
‘मेरो फोटो र विवरणसहितको नक्कली फेसबुक बनाएर जथाभावी म्यासेजहरु पठाइएको रहेछ,’ उनले भनिन्, ‘त्यही आधारमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको र प्रहरीले मलाई बोलाएर सोधपुछ गरेको हो । सोधपुछका क्रममा मेरो नाममा नक्कली फेसबुक बनाएर मलाई फसाइएको देखिएपछि प्रहरीले मलाई छाडिदिएको हो।’