पहिले–पहिले यहाँका हरेक संघसंस्थाले आफ्नो स्थापना दिवस धेरै खर्च गरेर धुमधामसाथ मनाउथे तर अहिले सोच बदलिएको छ । स्थापना दिवसमा हुने खर्चलाई कटौती गरेर मानव सेवामा लगाउन थालेका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ बागलुङले आफ्नो २७ औं स्थापना दिवस बागलुङ सदरमुकाममा रहको मानव सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेर मनाएको छ । फजुल खर्च गर्नुभन्दा परोपकारमा लगाउन बेस भनेर दिवस मनाउने खर्च मानव सेवा आश्रमलाई फलफूल तथा खाद्यान्न किनिएको संघका अध्यक्ष विष्णु पौडेलले बताए । उनले भने, ‘हामीले आश्रममा रहेको बुढा आमाबाबु तथा अन्यका लागि निःशुल्क स्वास्थ्य परिक्षण शिविर पनि सञ्चालन गर्ने सोच बनाएका छौं ।’
आश्रममा हाल २२ जना आश्रित रहेका छन्। अशक्त र बेसहारा नागरिकको संरक्षणका बागलुङ सदरमुकाममा डेढ बर्ष अघिदेखि नै आश्रम खोलिएको छ । बागलुङ बजारको सडक पेटिमा साहरा विहिन भएर भोक भोकै डुलिरहेका व्यक्तिहरुलाई उठाएर आश्रममा मायाँ र सत्कारले राखिएको आश्रमकी अभियन्ता सुमिरा लामाले बताइन्।
‘हामी धौलागिरी नै सडक मानव मुक्त बनाउने सोचमा छौं,’ लामाले भनिन, ‘यसका लागि सवै सरोकारवालाको सहयोगको खाँचो रहेको छ ।’
आश्रममा चलाउनका लागि झण्डै ५५ जनाले नियमितरुपमा विभिन्न सहयोग गर्दै आएका छन्। पछिल्लो समयमा केही संघसंस्थाले स्थापना दिवसका साथै आफ्नो जन्मदिनमा लाग्ने खर्च पनि आश्रममा नै सहयोग गर्ने गरेको लामाले बताइन्। हस्तान्तरण कार्यक्रममा पुगेका नेपाल टे«डयुनियन काँग्रेस प्रदेश नं. ४ का उपाध्यक्ष रामप्रसाद अधिकारीले स्वास्थ्यकर्मी संघले सहयोग तथा खाद्यान्न हस्तान्तरण जस्तो परोपकारी काम गरेको भन्दै प्रशंसा गरे ।
सवैको सहयोगले मात्र असहायका लागि आरक्षण मिल्ने भन्दै आफूल उक्त आश्रमका लागि मासिक एक हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाए।