अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ९, बुढाकोटमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । "नियमित स्वास्थ्य जाँच गराउँ, निरोगी बनौँ" भन्ने सन्देशका साथ १ दिने निःशुल्क स्वास्थ्य शिविर भएको हो।
अस्पताल आउन नसक्ने बिरामीहरूलाई ध्यानमा राख्दै आयोजित शिविरबाट करिब ४०० भन्दा बढी बिरामी लाभान्वित भएको वडाध्यक्ष ध्रुव थापाले जानकारी दिए । 'अछामकै विकटमध्ये रहेको बुढाकोटमा डाक्टरहरूले गर्नुभएको सहयोगका लागि हामी कृतज्ञ छौँ," वडाध्यक्ष थापाले भने।
शिविरमा ग्यास्ट्राइटिस (पेटको समस्या), दम, खोकी, मधुमेह, उच्च रक्तचाप, लुतो, हातखुट्टा तथा जोर्नी दुखाइ सम्बन्धी बिरामीहरू धेरै आएको शिविरमा संलग्न डा विष्णु भण्डारीले बताए।
उक्त शिविरमा डाक्टरहरूद्वारा स्वास्थ्य जाँच गरिनुका साथसाथै ल्याव परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा डा भण्डारीका साथै डा विकास गौचन, र डा नवीन भट्टले स्थानीयको स्वास्थ्य जाँच गरेका थिए। रगत र पिशाबको ल्याव परीक्षण कमल विष्ट र माधव पण्डितले गरेका थिए।
'सुगममा शिक्षा र सीप हासिल गरी दुर्गम र विकट ठाउँमा गएर सेवा दिनु नै एक सफल डाक्टरको परिचय हो,' डा भण्डारीले भने । बयालपाटा अस्पतालमा आवद्ध भएको दोस्रो दिनमै सेवा दिन पुगेका डा भट्टले सर्वसाधारणको मुहारमा उपचार पाउँदा देखिने खुसीका रेखाहरूले आफ्नो दुख बिर्साइदिने बताए।
बुढाकोट स्वास्थ्य चौकीद्वारा आयोजित शिविरमा ९ नं. वडा कार्यालयको समन्वयात्मक सहयोग एवं बयालपाटा अस्पतालको प्राविधिक सहयोग रहेको थियो।
करिब १० वर्ष अगाडि खुलेको बयालपाटा अस्पतालले अछाम लगायत सुदूरपश्चिमका अरू पहाडी जिल्ला बाजुरा, बझाङ र डोटीका लागि उपचारको प्रमुख गन्तव्यस्थल हो। अस्पतालका पूर्व निर्देशक समेत रहेका डा विकास गौचनले बयलपाटा अस्पताल सुदूरपश्चिमको स्वास्थ्यको वैशाखी रहेको बताए । उनले भने, 'बयालपाटा अस्पताल बिरामीहरूको सेवाका लागि चौबिसै घण्टा खुला र पूर्णरूपमा निःशुल्क छ र साथसाथै समुदाय केन्द्रित कार्यक्रमहरूमा पनि विशेष ध्यान पुर्याइरहेको छ ।'