फिफा विश्वकप फुटबल प्रतियोगिताका खेलहरु भइरहँदा फुटबलप्रेमीहरु खुलेरै आफ्नो पक्षका टिमको समर्थनमा लागिसकेका छन्। मैदानमा बलमा बल लगाउनेहरुभन्दा समर्थकहरुको उत्साह कम छैन।
विश्वकपको चर्चा सर्वत्र चलिरहेका बेला सधैं व्यस्त रहने चिकित्सा क्षेत्रका व्यक्तिहरुमा पनि 'फुटबल फिभर' चढिसकेको छ। वरिष्ठ छालारोग विशेषज्ञ डा सन्जुबाबु श्रेष्ठले आफ्नो फुटबल प्रेमबारे स्वास्थ्यखबरकी सिर्जना खत्रीलाई यसरी सुनाए:
सानो छँदा साथीहरुसँग फुटबल निकै खेलिन्थ्यो। बंगलादेशमा पढ्न गएदेखि विश्वकप हरेक पटक हेर्ने गरेको छु। मैले फुटबल खेल बुझेको चाहिँ अर्जेन्टिनाका खेलाडी म्याराडोनाको खेल हेरेर नै हो। उनको खेल कौशल गजबको थियो। एक किसिमको जादू नै थियो खेलमा। हेर्दाहेर्दै फुटबलका धेरै कुरा बुझ्ने मौका पाएँ।
तर, अहिले भने म ब्राजिलको फ्यान हुँ। ब्राजिलको टिमवर्क उत्कृष्ट छ। सुरुसुरुमा साथीहरुका कारणले ब्राजिलको समर्थक भएको थिएँ। तर, पछि ब्राजिलको खेल्ने शैलीले मलाई निकै प्रभावित बनायो। यसपाली पनि ब्राजिलको समर्थन स्वरुप जर्सी किनिसकेको छु। जर्सी लगाएर खेल हेर्दा छुट्टै आनन्द आउँछ।
यसपाली हामीले प्रोजेक्टरमा विश्वकप हेर्ने तयारी गरेका छौं। परिवार तथा साथीहरुसँग मिलेर खेल हेर्ने हो। यसरी सामूहिक रुपमा हेर्दा निकै रमाइलो हुन्छ।