रुसमा जारी विश्वकप फुटबलमा एक जना प्रशिक्षक लट्ठीको सहारामा यताउति गरिरहेको देखिन्छन् । उनी क्रिस्टियानो रोनाल्डो जस्ता स्टार खेलाडी रहेको पोर्चुगललाई पाखा लगाएर क्वार्टरफाइनल पुगेको उरुग्वेका प्रशिक्षक ओस्कार तबरेज हुन् । लट्ठीको सहारामा यताउति गरेपनि उनीसँग आफ्नो टिम र फुटबलका लागि जोशको कमी देखिदैन।
ओस्कार सन् २००६को अन्तिमदेखि हालसम्म उरुग्वेका प्रशिक्षक छन् । यसपल्ट रुसमा जारी विश्वकपमा उनको खेल रणनीति सफल देखिएको छ । समूह चरणमा उरुग्वेका विरुद्ध कुनैपनि टिमले गोल गर्न सकेनन्।
विश्वकपको प्रबल दाबेदारी देखाइरहेको उरुग्वेका यी प्रशिक्षक भने बिरामी मात्रै छैनन्, उमेरले समेत ७१ पुगिसकेका छन् । तर, उनी देशलाई विश्वकप दिलाएर मात्रै विश्राम लिने लक्ष्यका साथ खेलाडीसँगै रुसमा भिडिरहेका छन्।
सन् १९४७ मा जन्मेका तबरेज २० वर्षअघिदेखि गिलेन बार्रे सिन्ड्रोम (जिबिएस) नामक रोगबाट पिडित छन् । दुर्लभ रोग मानिएको जिबिएस एकलाखमा एक जनालाई हुने अमेरिकाको नेशनल इन्सिच्युट अफ न्युरोलोजिकल डिसअडर्स एन्ड स्ट्रोकले जनाएको छ । यो रोगले मान्छेको मांसपेशी कमजोर बनाउने गर्छ । कहिलेकाहिँ श्वासप्रश्वासमा समेत समस्या उत्पन्न गरिदिन्छ । यो आफ्नै रोग प्रतिरोधी क्षमताले स्वस्थ कोषमा असर गर्ने (अटोइम्युन डिजिज) हो । यसले मांसपेशी र नशामा असर गरेर प्यारालाइसिस बनाउँछ । उनको एउटा खुट्टा प्यारालाइसिस भएको छ।
पछिल्ला वर्षहरुमा उनको स्वास्थ्य अवस्था तीब्र रुपमा खस्किरहेको छ । उनमा जिबिएसको असर स्पष्ट देखिन थालेको छ । तर, उनी विश्वकपका लागि उत्तिकै खरो रुपमा उत्रिरहेका छन् । उनको स्वभावै त्यस्तै हो, आफूलाई भुलेर एकोहोरो लागिरहने र आफ्नो टिममाथि पनि खरो टिप्पणी गर्ने । त्यसैले उनको स्वभावमाथि उनका साथीहरु ठट्टा गर्छन्, ‘तबरेज फुटबलतिर आउनुअघि प्राथमिक विद्यालयको ‘मास्टर’ थियो । त्यो ‘मास्टरी’ बानी अहिलेसम्म गएन।’
सन् १९६० देखि ७० सम्म उनी फुटबल खेलाडी थिए । झन्डै १२ वर्ष फुटबल खेले । त्यसपछि उनी टिम म्यानेज गर्ने पेशातिर मोडिए । करिब ३० वर्षदेखि फुटबल प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । उनले कोलम्बिया, अर्जेन्टिना, इटली र स्पेनका ठूला फुटबल क्लबको म्यानेजरका रुपमा काम गरिसकेका छन् । इटलीको मुख्य फुटबल क्लबमध्येमा पर्ने एसी मिलानका समेत म्यानेजर रहिसकेका छन् उनी।
यसपल्ट विश्वकप जिताउन सकिने ठूलो आशा बोकेर रुस आइपुगेका तबरेज पोर्चुगलसँगको खेलपछि केही चिन्तित देखिन्छन् । उनले धेरै भरोसा गरेका उरुग्वेका स्टार खेलाडी एडिन्सन कावानी चोटग्रस्त भएपछि उनमा चिन्ता बढेको देखिन्छ । उनले यसअघि भनेका छन्, ‘लुई सुआरेज र एडिन्सन कावानीले उरुग्वेको खेललाई एउटा स्तरमा पु¥याइरहेका रहेका छन्, अझै माथि पु¥याउँछन्।’
कावनीसँग निको हुने समय कम भएकाले उनको विश्वकप आकांक्षामाथि तुषारापात हुने देखिन्छ । पोर्चुगल विरुद्ध दुई गोल हानेका कावानी ७५ औं मिनेटमा घाइते भएका थिए । उनले आगामी खेल खेल्ने वा नखेल्ने बारे अझै टुंगो लागिसकेको छैन । प्रशिक्षक ओस्कार भन्छन्, ‘हामी उनको चोट कति गहिरो हो छ भनेर पत्ता लगाइरहेका छौं।’
सन् १९३० र १९५० को विश्वविजेता उरुग्वेको अर्को खेल विश्वकपको प्रवल दाबेदार मानिएको अर्को टिम फ्रान्ससँग हुँदैछ।