काठमाडौं– डा गोविन्द केसीको समर्थनमा आन्दोलनरत डाक्टरहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा डाक्टरहरुले डा केसीका मागहरु छिट्टै सम्बोधन गर्न सरकारसँग माग गरेका थिए।
उनीहरुले शिक्षण अस्पतालमा भने आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। १४ दिनदेखि जुम्लामा आमरण अनशनरत डा केसीको माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै डाक्टरहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरुले माइतीघरमा ओपिडी सेवासमेत दिएको आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा सुमित पाण्डेले जानकारी दिए।