स्थान माइतीघर मण्डला। छेउमै ओपिडी सेवा भनेर पोस्टर टाँसिएको छ।
मध्याह्न १२ बजेका टण्टालापुर घाम। सधैँ प्रदर्शनकारीहरुको भीड जम्मा हुने थलोमा एकाएक एक हुल चिकित्सक आए।
उनीहरुको हातमा थियो स्टेथेस्कोप, प्रेसर नाप्ने उपकरण, अनि पर्चा।
सबैजना लस्करै हरियो दुबोमा बसे र भटाभट छेवैमा बिरामी जाँच्न थाले।
एकातिर नाक,कान घाँटीका डाक्टर सेवा दिन बसेका थिए भने छेवैमा थिए आँखाका डाक्टर र सँगै थिए न्युरोका डाक्टर जो बिरामीलाई सेवा दिन तम्तयार देखिन्थे।
परिलो घाममा बिरामी जाँच्दै गरेका डाक्टर प्रकाश रायमाझीले यसरी बाटैमा भएपनि बिरामीको सेवा गर्न पाइरहेको भनी खुसी व्यक्त गरे।
त्रिशुलीका ४० वर्षीय राजु केसीे यसरी निःशुल्क आफ्नो स्वास्थ्य जाँच गराउन पाएकोमा प्रफुल्ल देखिन्थे।
‘बाटोमा हिँड्दै थिए सेतो लुगा लगाका मानिस देखेँ, डाक्टर भनेर ठम्याइहाले अनि यहाँ आएर बुझ्दा त जाँच्ने व्यवस्था पनि रहेछ, केसीले भने।
उनले आफ्नो रगतको धमनी ब्लक भएकोले सर्जरीको लागि डाक्टरले अस्पताल आउन सुझाएको बताए।
त्यही भीडमा भेटिइन् सानी बालिका लिएर प्रेसर जचाइरहेकी बबरमहलकी लक्ष्मी गौतम। उनले आफ्नी सानी छोरी र आफ्नो दुवैको प्रेसर जँचाइन्।
यसरी घरनजिकै डाक्टरहरु जम्मा भएर सेवा गरेको देख्दा रमाइलो भएको उनले बताइन्।
त्यसैगरी आँखा सर्जन डा. अमित यादव पनि बिरामीका आँखा जाँच्नमा व्यस्त देखिन्थे।
डाक्टरहरुको भीड देखेपछि मानिसहरु पनि हौसिँदै जाँच गराउन अाइरहेका थिए।
डा.केसीको मागमा समर्थन जनाउँदै आज नेसनल रेजिडेन्ट डाक्टरर्स असोसिएनसले सांकेतिक रुपमा विरोध प्रदर्शन गर्न सडकमै अोपिडी सेवा दिएको हो।
एसोसिएनसनका अध्यक्ष सुमित पाण्डेले ‘अब हरेक दिन यसरी नै डाक्टरहरु आएर बिरामीको चेकजाँच गर्ने बताउँदै भोलि शनिबार सर्वसाधारणको थप भिड रहने अपेक्षा गरेको बताए ।’
उनले सरकारले डा.केसी अनसन बसेको १४ औँ दिन भइसक्दा पनि कुनै ठोस निर्णय लिन नसकेको र निरंकुश प्रवृति देखाएको आरोप लगाए।
त्रिवी शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुले माइतीघरमा ओपिडी सेवा दिएका थिए।
डा.केसीको माग सुनुवाइ नभएको भन्दे उनीहरुले आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।