रुपन्देही- भैरहवास्थित भीम अस्पताललाई सिद्धार्थनगर लेडी सर्कल–४ ले अत्याधुनिक प्रविधियुक्त सुगर जाँच मेसिन सहयोग गरेको छ। आइतबार अस्पतालमा आयोजित कार्यक्रममा सर्कलकी केन्द्रिय उपाध्यक्ष आरती अग्रवाल र नगरअध्यक्ष प्रिया गोयन्काले नगर प्रमुख हरिप्रसाद अधिकारी, अस्पतालका अध्यक्ष विशेश्वरप्रसाद बश्याल र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. आरिफ हुसेनलाई संयुक्त रुपमा मेसिन हस्तान्तरण गरेका हुन्। मेसिनको बजार मूल्य करिब डेढ लाख छ।
उक्त मेसिनबाट सुगर जाँच गर्दा दुई महिना पूर्व रोगको अवस्थाबारे जानकारी लिन सकिन्छ। जसले गर्दा बिरामीले अपनाउनु पर्ने सजकता र आवश्यकता पहिल्याउन सहज हुने अस्पतालका ल्याब टेक्निसियन प्रेमकुमार यादवले बताए।
सुगर जाँच गर्ने अन्य मेसिनहरु भए पनि अस्पतालमा यसअघि उक्त प्रविधि थिएन। जिल्लाकै सबैभन्दा पुरानो यो अस्पतालमा गरिब तथा विपन्न परिवारका बिरामीहरु उपचारमा आउने गर्छन् ।
अस्पतालले उक्त मेसिनबाट जाँच गर्दा बजारमा लिइने दस्तुर भन्दा सस्तो मूल्य लिने जनाएको छ। सो अवसरमा बोल्दै सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले अस्पतालजस्तो पवित्र ठाउँमा सहयोग गरेर सर्कलले पुण्यको काम गरेको बताए।
सर्कलकी केन्द्रिय उपाध्यक्ष अग्रवालले बिरामीहरु अन्यत्र जान नपरोस् भनेर सहयोग गरेको बताइन्।