राजविराज– सप्तरीमा रहेका कतिपय स्वास्थ्य संस्थाले सन्तोषजनक सेवा नदिएको गुनासो बढिरहेका बेला सदरमुकाम राजविराज ७ स्थित सहरी स्वास्थ्य केन्द्रले भने सुलभ ढंगले सेवा प्रदान गर्दै आएको छ।
उपचार खर्च धान्न नसक्ने गरिब तथा विपन्न मानिसका लागि लक्षित गरेर २०६९ सालदेखि स्थापना भएको केन्द्रमा गर्भवती जाँच, खोप, परिवार नियोजन, पोषण, ओपिडी सेवा तथा स्वास्थ्य सम्बन्धी परामर्श दिने काम हुँदै आएको छ।
केन्द्रमा सेवा लिन आउनेहरुको संख्या वृद्धि भएसँगै स्वास्थ्य जाँच सम्बन्धी विभिन्न उपकरणहरुको समेत व्यवस्था गरिएको केन्द्रका प्रमुख सिनियर अहेव दिनेशप्रसाद साहले बताए।
उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५ हजार ७ सय बालबालिकालाई खोप सेवा उपलब्ध गराइएको छ। ती मध्ये २ हजार ७ सय ७९ बालिका र २ हजार ९ सय २९ बालक छन्। यसैगरी, ७ सय ३९ महिलाको गर्भवती जाँच समेत गरिएको छ।
वडा ७ मा स्थापित केन्द्रमा आफ्नो वडा वाहेक अन्य वडा र भारतीय सिमावर्ती क्षेत्रबाट पनि स्वास्थ्य सेवा लिन मानिसहरु आउने गरेको केन्द्रका अहेव सन्तोषकुमार दास बताउँछन्। अन्य स्वास्थ्य संस्थामा महिनाको तीनदिन मात्र खोप सेवा उपलब्ध हुने गरेकोमा उक्त केन्द्रले सार्वजनिक बिदाका दिन बाहेक सबै दिन खोप सेवा दिने गरेको छ।
राजविराजमै रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुरक्षित मातृत्व कार्यक्रम लागू भएको तर एएनसी जाँच (गर्भवती जाँच) का लागि भने सोही केन्द्रमा मात्र व्यवस्था रहेको सिनियर अहेव साहले जनाए।
केन्द्रले स्वास्थ्य सेवासँगै विभिन्न ४५ प्रकारका औषधि समेत निःशुल्क उपलब्ध गराउँदै आएको छ।
गर्भवती जाँच, पोषण र खोपका लागि छुट्टाछुट्टै कोठा रहेको हुनाले काम गर्न र सेवा लिन सहज रहेको उनको भनाइ छ। पोषणसम्बन्धी समस्या भएका बालबालिकामध्ये मध्यमसम्मको कुपोषण भएकालाई पौष्टिक खानासमेत दिने व्यवस्था रहेको उनले बताए।

केन्द्रले उपलब्ध गराएको सेवाप्रति सेवाग्राहीले समेत खुसी व्यक्त गरेका छन्। ‘छोरीलाई खोप लगाउने समय भएकाले चिन्तित थिएँ,’ काठमाडौंबाट राजविराज–८ माइती आएकी सुमी श्रेष्ठले भनिन्, ‘सहरी स्वास्थ्य केन्द्रमा हरेक दिन खोप लगाउने व्यवस्था रहेकाले चिन्ता सकियो।’
वडाअध्यक्ष मागिलाल नाईले राजविराजमा सगरमाथा अञ्चल अस्पताल लगायत विभिन्न निजी अस्पताल र क्लिनिक हुँदाहुँदै पनि स्वास्थ्यकर्मीको लगनशिलता र मिहिनेतले सहरी स्वाथ्य केन्द्रप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको बताए।