काठमाडौं- २७ दिन लामो अनसनका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारेमा नेताहरुले जानकारी लिएका छन्।
अनसन तोडे लगत्तै आइसियुमा उपचाररत डा केसीलाई मंगलबारमात्र वार्डमा सारिएको छ।
डा केसीको स्वास्थ्यका विषयमा युरोपबाट स्वदेश फर्के लगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी लिएका थिए। उनले डा केसी पक्षका डा अभिषेकराज सिंहलाई फोन गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्।
यस्तै, नेकपाका नेता नारायणकाजी श्रेष्ठ र सुवास नेम्वाङले पनि डा केसीको स्वास्थ्य बारे जानकारी लिएका छन्।
यसैगरी, नेपाली कांग्रेसका युवा नेता गगन थापाले पनि स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका छन्। नेपाली कांग्रेसकै अर्का नेता अर्जुननरसिंह केसी र प्रधानमन्त्रीका स्वकिय सचिव राजेश महर्जनले पनि डा केसीको स्वास्थ्यका विषयमा टेलिफोन मार्फत जानकारी लिएको डा सिंहले जानकारी दिए।