वेलायत– जुम्ल्याहा सन्तान पाउनु आफैंमा आचार्यजनक कुरा हो । तर, जेनिफर अश्वुडको समाचार बेग्लै छ । चिकित्सकले उनका दुईटा गर्भाशय रहेको र दुवैमा एकसाथ बच्चा बसेको पाए।
विश्वमा ५ करोड महिलामा एकलाई यस्तो हुन्छ । भर्खरै वेलायतमा यस्तो घटना घटेको हो।
दुईटा गर्भाशय हुने धेरै गर्भवती महिलाहरुको एकतिर बच्चा बसेको हुन्छ र दुईटा गर्भाशय रहेको पहिलो बच्चा बस्दा नै थाहा हुन्छ । तर, अश्वुडले आठ वर्षअघि छोरी मिलेइ पाउँदा यो अवस्था बारे पत्ता लागेको थिएन । उनले भनिन्, ‘मैले यसअघि पनि बच्चा पाइसकेकी छु । तर, यसपल्ट मेरो शरीरले मलाई नै छक्क पार्यो।’

गर्भ २० हप्ताको हुँदा नियमित चेकजाँचका क्रममा यस्तो पाएकी हुन् । त्यो समय चिकित्सकले उनको दुईटा गर्भाशय रहेको र दुवैमा एकसाथ गर्भ हुर्किरहेको बताएका थिए।
यतिबेला उनले दुई स्वस्थ सन्तान जन्माइसकेकी छिन् । एकतिरको गर्भाशयबाट छोरा पिरान र अर्कोतिरबाट छोरी पोप्पी जन्मिएकी छिन्।
उनी र उनका श्रीमान् एन्ड्रेउले जुम्ल्याहा सन्तान हुनसक्ने अनुमान गत डिसेम्बरमा गरेका थिए । उनको गर्भावस्था असामान्य रहेको चिकित्सकले फेब्रुअरीमा मात्रै बताए।
गर्भवती अवस्थामा अश्वुडले त्यस्तो केही समस्या त झेलिनन् तर यस्तो अवस्थामा गर्भ तुहिने र राम्ररी नहुर्केर जन्मिने जोखिम उच्च रहन्छ । उनले ३४ हप्तामा स्वस्थ सन्तान जन्माइन् । दुई हप्ता जन्डिसको उपचारपछि दुवै सन्तान अहिले घर ल्याइएका छन्।
डेलिमेलबाट