विषादी विक्रेताहरुलाई नै विषादी न्युनिकरणका अभियन्ता बनाइएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठान, कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजना अन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका, खैरहनी, राप्ती र कालिका नगरपालिकाबाट २५ जना विषादी बिक्रेताहरुलाई विषादीको सुरक्षित व्यवस्थापन र उचित बिक्रिसम्बन्धी तालिम दिइएको छ।
यस परियोजना अन्तर्गत वि.सं. २०७४ साल फाल्गुण महिनामा चितवन जिल्लामा गरिएको सर्वेक्षणले विषादी बिक्रेताहरु विषादी न्यूनीकरण अभियानका महत्वपूर्ण अभियन्ताहरु हुन सक्ने देखिएको थियो । उक्त सर्वेक्षणको प्रतिवेदनअनुसार ५० प्रतिशत भन्दा बढी कृषकहरु कृषि तथा बोटबिरुवाका रोगसम्बन्धी केही समस्या पर्दा विषादी बिक्रेताहरुलाई सम्पर्क गर्ने देखिएको छ । तसर्थ तालिम कार्यक्रममा विषादी बिक्रेताहरुले विषादी बिक्रि वितरण गर्दा कृषकलाई महत्वपूर्ण सूचनाहरु (जस्तैः विषादी प्रयोग गर्दा सुरक्षित पहिरन अनिवार्य लगाउनुपर्ने, विषादी छर्किँदा सकेसम्म बेलुका मात्र छर्कनुपर्ने, विषादीको पर्खनुपर्ने समयको पालना गर्नुपर्ने अनिवार्य रुपमा दिनुपर्दछ) समेटिएका थिए।
त्यस्तै विषादी बिक्रेताहरु पनि धेरै समय विषादीको संसर्गमा रहने हुँदा आफ्नो स्वास्थ्य प्रति सजग हुनुपर्ने र विषादी खरिद गर्दादेखि भण्डारण र व्यवस्थापनसम्म नेपाल सरकारको नियम बमोजिम सुरक्षित विधिहरु अवलम्बन गर्नुपर्ने विषयहरुमा जानकारी दिइएको छ।
जनस्वास्थ्यकर्मी सिमृन काफ्ले यस्ता सचेतनामूलक कार्यक्रमहरु सरकारी निकायबाट राष्ट्रिय स्तरमै संचालन गरिनुपर्ने र विषादीको उचित बिक्रि र व्यवस्थापनका सम्बन्धमा कडा निर्देशन हुनुपर्ने बताउँछिन्।