काठमाडौं– एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्शको आयोजनामा साउन २१ र २२ गते मेडिकल टुरिजम एशिया एक्स्पो–२०१८ हुने भएको छ । एक्स्पो काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने भएको हो । एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्श नेपालका अध्यक्ष कृष्ण पाण्डेले नेपालमा मेडिकल टुरिजमको अत्याधिक सम्भावना भएको र यसको विकास गर्ने अवधारणा अनुरुप एक्स्पो आयोजना गर्न लागिएको बताए।
एक्स्पोमा नेपाल, भारत, बंगलादेश, थाइल्यान्ड, सिंगापुर लगायत सार्क देशहरुका अस्पताल तथा डाक्टरहरुको उपस्थिती हुनेछ भने २२ गते सोही स्थानमा विहान १० बजे देखि बेलुकी ८ बजेसम्म कन्फरेन्स हुनेछ । जसमा मेडिकल टुरिजम विकास तथा प्रबद्र्धनको लागि अनुभवी डाक्टर, स्वास्थ्य व्यवसायी, स्वास्थ्यसँग आबद्ध व्यक्तिहरुले आ–आफ्नो भनाई, सुझाव तथा अनुभव आदान प्रदान गर्नेछन्।
एक्स्पोलबाट नेपाली अस्पतालहरुलाई प्रोमोट गर्ने, विदेशी अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग समन्वय तथा सहकार्य गरी बिदेशी बिरामीहरुलाई नेपालमा उपचारको लागि प्रोत्साहन गरी नेपालमा बिदेशी पर्यटकहरुलाई भित्र्याउने लक्ष्य लिइएको छ । बिदेशमा भन्दा नेपालमा स्वास्थ्य उपचार सस्तो तथा बातावरण अनुकुल भएकोले बिदेशी पर्यटकहरुलाई आकर्षण गर्न सजिलो एक्स्पोका प्रबन्धक अर्जुन चन्दले बताए। एक्स्पोमा स्वदेशी तथा विदेशी अस्पतालका प्रतिनिधी बिच बिटुबि मिटिङ साथमा बिदेशी डेलिगेटलाई नेपालका अस्पतालको भ्रमण र कार्य दक्षताको प्रदर्शन गरिने छ।
नेपाल एउटा बिदेशी पर्यटकहरुको पहिलो रोजाई भएको र उक्त अवसरमा मेडिकल प्रोटफोलियो जोडियो भने नेपालको अर्थतन्त्रमै केहि राहत पुग्ने पाण्डेले बताए । एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्शले बिगत केही बर्ष देखि अन्र्तराष्ट्रिय क्षेत्रमा स्वास्थ्य तथा व्यापारसँग सम्बन्धीत गोष्ठि, सम्मेलन, तथा प्रदर्शन गर्दै आएको छ ।
यस मेडिकल टुरिजम कन्फरेन्सले नेपालमा प्राबिधिक सहायता, अन्र्तराष्ट्र्यि सहकार्य, तथा बैदेशिक लगानी गर्न प्रोत्साहन गर्नेछ । सो अवसरमा फ्रि मेडिकल हेल्थ क्याम्पको साथमा फ्रि डेन्टल क्याम्प सञ्चालन गरिनेछ । एक्स्पोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल टुरिजम बोर्ड, नाटा तथा साना तथा मझौला व्यवसायी महासंघ नेपालको सहकार्य रहेको छ ।