थाई महारानीको ८६ औं जन्मजयन्तीको अवसरमा थाई नेपाली संघमा आवद्ध नेपालीहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। थाईल्याण्डमा रहेका नेपालीहरुको साझा संस्थाको रुपमा रहेको संघको बैंकक शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा करिव ५ सय व्यक्तिहरुले सहभागीता जनाएका थिए।
‘रक्तदान नै जीवनदान’ भन्ने मन्त्रलाई मनन गरेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा यसपटक सबैभन्दा धेरै सहभागिता भएको जानकारी दिइयाे। यसअघि पनि यस्ता कार्यक्रम आयोजना गरिएपनि यसपटकको सहभागिताले नेपाली समुदायप्रति समाजसेवा र रक्तदानप्रति अझ बढी रुचि जाग्न थालेको महसुस गरेको संघका अध्यक्ष कुमार कार्कीले बताए।
थाई रेडक्रस सोसाईटी र थाई नेपाली संघको संयुक्त आयोजनामा भएको यो कार्यक्रमले मानवीय सेवामा दुई संस्थाको सहकार्य पनि अघि बढाएको छ । नेपाली मूलका मानिसहरुको रक्तदान प्रक्रियामा यो सहभागितालाई मानवीय सहयोगका कार्यमा उदाहरणीय कार्य मानिएको छ।
रक्तदान कार्यक्रम बैंककको सुकुम्वीत रोडमा रहेको त्रिनाथ देवालय श्रीपोट मन्दिर परिसरमा भएको थियो । कार्यक्रमको आयोजना थाई नेपाली संघ , युवा विभाग र श्री त्रिनाथ देवालय संचालन समितिले संयुक्त रुपमा गरेका थिए।


