राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका—८ स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा नियमिति स्वास्थ्य सेवा वाहेक दन्त चिकित्सा र एक्सरे सेवा थप गरिएको छ।
सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको योजना अनुसार सेवा थप गरिएको हो । एक महिना भित्रै आँखा र कानको उपचारका लािग पनि थप ब्यवस्था गर्ने नगरपालिकाको योजना छ।
कञ्चनरुप नगरपालिकाका मेयर वसन्तकुमार मिश्रले सोमवार दन्त चिकित्सा र एक्सरे सेवाको उदघाटन गरे। दन्त चिकित्साका लागि डाक्टरको सेवा सुविधा नगरपालिकाले र एक्सरेका लागि टेक्निसियनको ब्यवस्था अस्पताल ब्यवस्थापन समितिले मिलाउने मिश्रले वताए ।
स्वास्थ्य र शिक्षाको सुधारलाई पहिलो प्राथमिक्तामा राखेर नगरपालिकाले काम गरिरहेको मिश्रको भनाई छ । ‘हामीले नीति तथा कार्यक्रममा नै स्वास्थ्य र शिक्षालाई सर्वसुलभ वनाउने र सुधार गर्ने भनेका छौं,’ उनले भने, ‘सोहि कार्यक्रम अन्तर्गत कार्यान्वयनको पाटो सुरु भएको छ। अझै धेरै गर्न वाँकी छ ।’
आगामी एक महिना भित्र आँखा तथा कानको उपचार पनि सुरु हुने प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा सञ्जीव झाले भन,‘सर्वसाधारणको आवस्यक्ता तथा साधन र स्रोतको अवस्था अनुसार सेवाहरु थप हुँदै जान्छन् । एक महिना भित्रै आँखा र कानको उपचारका लागि पनि अन्यत्र जानु पर्ने अवस्थाको अन्त्य हुन्छ ।’
केही वर्षअघिसम्म सञ्चालनमा रहेर बन्द भएको सर्पदंस उपचार सेवालाई पनि पुनः सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको झाले वताए । ‘नगरपालिका र स्थानीयवासीको सहयोग पाए हामी सर्पदंशको उपचार फेरी सुरु गर्ने तयारीमा छौं,’ उनले भने ।
केन्द्रमा हाल २ डाक्टर, १ स्टाफ नर्स, ३ अनमी, १ सिनियर अहेब र २ अहेबको दरबन्दी छ । दरबन्दी अनुसार सवै जनशक्ति कार्यरत रहेको केन्द्र प्रमुख झाले जानकारी दिए ।
