रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८, चार नम्बरस्थित करहिया स्वास्थ्य चौकीमा सामुदायिक स्वास्थ्य प्रयोगशाला सञ्चालन भएको छ।
स्वास्थ्य चौकी स्थापनाको झण्डै २० वर्षपछि सञ्चालन गरिएको प्रयोगशालाको बुधबार तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । नगर प्रमुख घिमिरेले प्रयोगशालाको दिगो व्यवस्थापनका लागि जनशक्ति एवं भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले आगामी दिनमा थप सहयोग उपलब्ध गराउने बताए।
सरकारी स्वास्थ्य सेवाप्रतिको विश्वसनियता बढाउँदै रोगको समयमैं पहिचान गर्न प्रयोगशालाको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै नगर प्रमुख घिमिरेले प्रयोगशालाबाट लाभ लिन सबैलाई आग्रह गरेका छन् । यस्तै वडा नं. ८ का वडाध्यक्ष कृष्ण पौडेलले सबैको सहयोगबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको उल्लेख गर्दै यसले स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउने बताए।
स्वस्थ्य चौकी ईञ्चार्ज पिताम्बर पाठकले स्वास्थ्य चौकी स्तरीय प्रयोगशालामा औलो एवं क्षयरोगको पूर्ण निःशुल्क तथा अन्य परीक्षणको न्यून शुल्कमा उपलब्ध गराउने जानकारी दिए । प्रयोगशाला सञ्चालनसँगै स्वास्थ्य चौकीमा आउने बिरामीको संख्या बढ्ने बताए।