काठमाडौं– जापानले सिरहास्थित फूलकुमारी महतो मेमोरियल अस्पताललाई ‘मोबाइल क्लिनिक कार’ उपलब्ध गराएको छ।
नेपालका लागि जापानी राजदुत मासासीसी ओगावाले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फूलकुमारी महतो मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा शिवशंकर साहलाई ‘मोबाइल क्लिनिक कार’ हस्तान्तरण गरेका हुन्।
बिरामीको घरमै गएर उपचार गर्न सकिने विशेषज्ञ सेवा समेत उपलब्ध हुने व्यवस्थासहितको सो कार नेपालका लागि अति उपयोगी हुने अस्पतालका मेडिकल डाइरेक्टर साहले बताए। औषधि, चिकित्सक र बिरामीहरुलाई हेरचाह गर्ने एउटा बेडको समेत व्यवस्था गरिएको सो क्लिनिक कार अस्पतालले मध्य तराईका सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र घनुषाका बिरामीहरुको सेवामा परिचालन गर्ने योजना बनाएको छ।
अस्पताल प्रशासन र जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था आइज्याक नेपालको पहलमा ‘मोबाइल क्लिनिक कार’ जापान सरकारले उपलब्ध गराएको हो। अस्पतालले सो सेवालाई ग्रामीण जनताको घरदैलोमा पुर्याउने व्यवस्थाका लागि सडकको उचित व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ। अस्पतालका मेडिकल डाइरेक्टर साहले सो मोबाइल क्लिनिकको सेवा ग्रामीण जनताको घरदैलोमा पुर्याउन आवश्यक पर्ने सडकको उचित व्यवस्था गर्न माग गरेका छन्।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आफ्नो आमाको स्मृतिमा सो अस्पताल स्थापना गरेका थिए।