काठमाडौं- विश्व मधुमेह दिवसका अवसरमा राजधानीमा मधुमेहविरुद्ध र्याली र सचेतना प्रदर्शनी गरिएको छ। यो वर्ष ‘परिवार र मधुमेह’ भन्ने नारासहित दिवस मनाइएको छ। परिवारको कुनै एकजनामा मधुमेह छ भने उसको परिवारको अरु सदस्यालाई ४० प्रतिशतसम्म मधुमेह लाग्ने सम्भावना रहन्छ। त्यसकारण समयमा नै सचेत रहन चिकित्सकले सुझाब दिएका छन्।
दिवसका अवसरमा हर्ड इन्टरनेसनल, नेपाल डाइबेटिज एसोसिएसन, युसिएल र त्रिवि शिक्षण अस्पतालले संयुक्त रुपमा र्याली र सचेतना प्रदर्शनी गरेको हो। नक्सालस्थित नारायणचौरबाट सुरु भएको र्याली त्रिवि शिक्षण अस्पताल पुगेर टुंगिएको थियो। अस्पतालमा मधुमेह रोग कसरी लाग्छ? यो रोगबाट कसरी बच्ने? लक्षण, के खाने, के नखाने? लगायतका विषयमा सचेतना मुलक पोष्टर, पम्पेलट लगायतका सन्देश टाँसेर प्रदर्शनमा राखिएको छ।