काठमाडौं– आज १५ औँ महिला स्वास्थ्य स्व्यंसेविका दिवसको अवसरमा कीर्तिपूर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ५ उत्कृष्ट स्वस्यंसेविकाहरुलाई सम्मान तथा विदाइ गरेको छ।
सम्मानित सबै स्वयंसेविकाहरु २०४५ देखि काम गर्दै आएका ६० कटेका स्वस्यंसेविकाहरु हुन्। उनीहरुलाई जनही ३० हजार रुपैँयाका साथ तामपत्र दिइ सम्मान तथा विदाइ गरिएको छ।
कीर्तिपूर नगरपालिकाको १० वडामा अहिले ११३ जनास्वयंसेविका रहेका छन् जसमध्ये हरेक वडाको ३ जना गरी ३० जनालाई समेत उत्कृष्ट काम गरेबापत सम्मान गरिएको छ।
कीर्तिपूर नगरपालिकाले यस वर्ष १० लाख बजेट स्वयंसेविका कार्यक्रमका लागि छुट्याएको छ। कीर्तिपूर नगरपालिका नगर प्रमुख रमेश महर्जनले पुरानालाई विदाइ गर्दे स्वयंसेविकाको रुपमा नयाँ पिढीका प्रविधिमा अपडेट महिलाहरुलाई स्वागत गर्नुपर्ने बताए।
उनले स्वयंसेविकाहरुको अतुलनीय योगदानको कुनै पनि मूल्य तोक्न नसकिने भन्दै तालिम तथा भत्ता वृद्धिका लागि पनि योपालि बजेट पनि बढाइएको जानकारी दिए।
त्यसैगरी कीर्तिपूर महिला स्वास्थ्य स्वयंसेविका समितिकी अध्यक्ष नीलकुमारी महर्जनले अहोरात्र खटिरहने स्वयंसेविकाहरुलाई सरकारले अझै पनि उचित सम्मान नदिएको भनी गुनासो पोखिन्।
कीर्तिपूर नगरपालिकाले स्वयंसेविका मार्फत उच्च रक्तचाप र मधुमेह तथा बिएमआइ मेशिन पनि उपलब्ध गराइ मानिसहरुलाई निःशुल्क जाँच उपलब्ध गराएको छ।
‘महिला स्वास्थ्य स्व्यंसेविकाको निस्वार्थ सेवाः स्वास्थ्य राष्ट्रनिर्माणमा टेवा’ भन्ने नाराका साथ आज देशभर महिला स्वास्थ्य स्व्यंसेविका दिवस मनाइँदैछ।