काठमाडौं- प्रसव फिस्टुला (अब्स्टेट्रिक फिस्टुला) सम्बन्धी सातौं अन्तर्राष्ट्रिय सम्मेलन २०१८ राजधानीमा भइरहेको छ।
बुधबारबाट सुरु भएको सम्मेलन शनिबारसम्म चल्ने छ। सम्मेलनको आयोजना नेपाल प्रसुति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) र अन्तर्राष्ट्रिय प्रसव फिस्टुला शल्य चिकित्सक समाज (आईसफ्स)को संयुक्त आयोजनामा भएको हो।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा गणेश दंगालले फिस्टुलाको सम्भावित कारण, जटिलता, रोकथाम, निदान, अभिलेखीकरण तथा उपचार विधि सम्बन्धी जानकारी आदनप्रदान गर्ने उद्देश्यले सम्मलेन आयोजना गरिएको बताए।
उनले काठमाडौं मोडल अस्पतालमा दुई दिने फिस्टुला सम्बन्धी लाइभ सर्जरी समेत सम्पन्न भएको जानकारी दिए।
५ सय जना सहभागी भएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीबाट करीब १ सय ५० वटा शोधपत्रहरु प्रस्तुत हुनेछ। त्यसैगरी फिस्टुलासम्बन्धी ४० भन्दा बढी सूचना सामाग्रीहरु प्रस्तुत पनि गरिने आयोजकले जनाएको छ।
फिस्टुलाबाट पिडित महिलाहरुको स्वस्थ्य जीवपनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्धेश्य सहित यस समस्या समाधानको लागि भइरहेको सेवा, कार्यक्रम तथा कार्यान्वयनलाई यो सम्मलेनले थप सहयोग पुग्ने सम्मेलन आयोजकको अपेक्षा छ।
प्रसव फिस्टुला भनेको यस्तो समस्या हो जसमा प्रसुति हुने क्रमामा बच्चा निस्कन गाह्रो भइ प्रसव समय लम्बिएमा महिलाहरुको योनीमार्गबाट पिसाबथैली वा मलाशयमा खुल्ने गरी अस्वाभाविक प्वाल बनेर योनीमार्गबाट दिनरात पिसाब चुहिने र कहिलेकाहीँ दिसा समेत निस्क्न सक्छ। यसबाट महिलालाई शारीरिक मात्र नभई समाजिक तथा मानसिक पिडा समेत पर्न जान्छ।
यो समस्या विशेषगरी विकासोन्मुख देशमा विद्यमान छ । सन् २०१८ को तथ्यांक अनुसार प्रत्येक एक लाख प्रजनन उमेर समुहका महिलाहरु मध्ये २९ जनामा यो समस्या देखिने अनुमान गरिएको छ।