प्रतिकात्मक तस्विर
काठमाडौं– महिनावारी: बिश्रामको लागि समय छैन, महिनावारीका समयमा हरेक नेपाली किशोरी अघि बढ्न सुनिश्चित गरौं’ अवधारणामा महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी परामर्श कार्यशाला हुने भएको छ । महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारी (एम.एच.एम.पी. अलायन्स) र जी.आइ.जेड.को सहयोगमा ११ डिसेम्बर, २०१८मा होटल याक एण्ड यती, काठमाडौंमा कार्यशाला आयोजना हुने भएको हो।
कार्यशालामा करीब ३ सय ५० जना विज्ञ, नीति निर्माता, अभ्यासकर्ता, अनुसन्धानकर्ता, किशोर तथा युवा र सञ्चार प्रतिनिधिहरुबीच महिनावारी स्वास्थ्य व्यवस्थापनका विषयमा छलफल हुनेछ । समग्र स्वास्थ्य र अधिकारका मुद्दाहरुमा लिइनुपर्ने तथ्यमा आधारित बहुक्षेत्रगत साझेदारीका विषय तय गर्ने उक्त भेलाको उद्देश्य रहनेछ ।
नेपाल र विश्वभरी महिला र किशोरीहरुले महिनावारीका क्रममा थुपै्र समस्याहरु भोग्दै आइरहेका छन् । ती समस्याहरुमा सफा पानी, सुरक्षित र लैंगिक चर्पीको अभाव, लज्जा र असहजता लगायत छन् । नेपालमा अहिले महिला र किशोरीहरुले भोग्नुपरेका महिनावारी सम्बन्धी व्यवधानहरुलाई सम्बोधन गर्ने कुरा चासोको विषय बन्दै गइरहेको छ । “पिरियड पोभर्टी” अर्थात् महिनावारी सरसफाई सामग्री जुटाउन नसक्नु नेपालका धेरै समुदाय, न्यून आम्दानी हुने समूह र विद्यालय पढ्ने किशोरीहरुको समस्या बनेको छ ।
यो परामर्श कार्यशाला सन् २०१६ मा नेपालमा किशोर स्वास्थ्य र विकास विषयमा भएको राष्ट्रिय गोष्ठीको अनुगमनको रुपमा रहनेछ र नीति निर्माता, अभ्यासकर्ता र अनुसन्धानकर्ताहरुलाई तिनका पछिल्ला ज्ञान र नेपालभरीका महिनावारी विषयका अभियानकर्ताहरुले गरेका नयाँ क्रियाकलापका लागि मञ्च सावित हुनेछ। यसले सन् २०१७ मा स्थापित ५० भन्दा बढी संस्थाहरुको राष्ट्रिय सञ्जालको रुपमा रहेको महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारी (एम.एच.एम.पी. अलायन्स) अहिलेसम्मका उपलब्धीको मूल्यांकन गर्नेछ भने नेपाल मात्र नभई क्षेत्रीय र विश्वव्यापी रुपमा विभिन्न संस्थाहरुले कसरी सँगसँगै काम गर्न सक्छन् भन्ने बारेमा पनि छलफल गर्नेछ ।
परामर्श कार्यशाला हुनु अगाडी छलफललाई व्यवस्थित, निर्देशित र उर्जा प्रदान गर्न पाँचवटा प्राविधिक समूहहरु गठन भइसकेका छन् । प्रत्येक समूहले कार्यशालामा आप्mना उपलब्धी र कार्ययोजनाहरु प्रस्तुत गर्नेछन् । ती समूहहरु शिक्षा, जनचेतना तथा सिकाई, नीति तथा पैरवी, आविष्कार÷नवीनता र दीगोपना, अनुसन्धान तथा विश्लेषण र पानी, सरसफाई तथा महिनावारी स्वास्थ्य व्यवस्थापनमा केन्द्रीत हुनेछन्।
परामर्श कार्यशालाको अन्तिम लक्ष सन् २०१९÷२०२० मा यस क्षेत्रमा अवलम्बन गरिने प्रमुख पक्षहरु, निश्चित गतिविधिहरु, सुझाव र पाँच प्राविधिक समूहहरु र प्रमुख मन्त्रालयहरु (खानेपानी, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रबिधि र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक) समेतका प्रतिज्ञाहरु समेटिएको “काठमाडौं कार्ययोजना” प्रस्तुत गर्नु रहेको छ । हरेक किशोरी महिनावारीको समयमा सरसफाई सामग्रीको अभावबिना स्वस्थ रहन सकुन् र त्यसका लागि पहिलोपटक हुने महिनावारी, महिनावारी स्वास्थ्य, महिनावारी सरसफाईमा दिगोपनामा विद्यमान ज्ञान तथा जनचेतना अभियानमा केन्द्रित रही किशोरावस्थाको स्वास्थ्य र विकासमा रहेका अन्तरहरुलाई मेट्ने उद्देश्य यस कार्यशालाको रहेको छ।