जाजरकोट - सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार गरिएको छ।
बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको आज दिउँसो उद्धार गरिएको हो। लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने मिति मङ्सिर ८ गते तोकेको थियो। तोकेको मितिमा बच्चा नजन्मेपछि मङ्सिर २३ गते लिम्लास्थित स्वास्थ्य चौकीमा ल्याएर जाँच गर्दा बच्चा पेटमै मृत्यु भएको पाइएको थियो।
गर्भमै बच्चाको मृत्यु भएपछि थापाको जीवन बचाउनका लागि बारेकोट गाउँपालिकाको समन्वय र घरआँगन संस्थाको आर्थिक सहयोगमा उनलाई हेलिकप्टरमा लिम्साबाट पोखराको मनिपाल अस्पताल भर्ना गरिएको संस्थाका दीपक सिलवालले जानकारी दिए। थापा पाँचौँ पटक सुत्केरी हुँदै थिइन्। दुई चिकित्सकको दरबन्दी भएपनि लिम्सा स्वास्थ्य चौकी अहिले चिकित्सकबिहीन छ। चिकित्सक नहुँदा उपचारका लागि यहाँका बासिन्दा अन्यत्र जानुपरेको स्थानीयवासी कालीप्रसाद थापाले बताए। रासस