काठमाडौं– काठमाडौंमा जारी दुई दिने हिमालयन सिस्टिसर्कोसिस सम्मेलन सम्पन्न भएको छ। राजधानीमा शुक्र र शनिबार भएको सम्मेलनमा २ सय भन्दा बढीको सहभागिता थियो।
अन्नपूर्ण न्यूरो अस्पताल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालय अनुदान अयोगको संयुक्त आयोजनामा भएको सम्मेलनमा सिस्टिसर्कोसिससँग जोडिएका ३५ वटा सोधपत्र प्रस्तुत गरिएको छ।
सम्मेलनमा देश तथा विदेशसँका निकायहरुसँगको सहकार्यमा सिस्टिसर्कोसिस उन्मुलन गर्ने अठोट समेत लिइएको छ। सिस्टिसेर्कोसिसलाई उन्मुलन गर्ने लक्ष्य बोकेको यस सम्मेलनमा मेक्सिको, अर्जेन्टिना, अस्ट्रेलिया, जापान, मलेसिया, भारत तथा नेपालका विभिन्न चिकित्सक, वैज्ञानिक तथा अनुसन्धान्कर्ताहरुको सहभागिता रहेको थियो।
स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादव तथा वरिष्ठ न्य्रुरोसर्जन डा वसन्त पन्तले उद्घाटन गरेको यस सम्मेलनमा सिस्टिसेर्कोसिसमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वबाट काठमाडौं घोषणा पत्र पनि जारी गरिएको छ।
घोषणापत्रमा सिस्टिसेर्कोसिसलाई उन्मुलन गर्न के कस्ता जिम्मेवारी अपनाउनुपर्ने, सरकारले सिस्टिसेर्कोसिस उन्मुलनलाई आफ्नो नीति नियममा राख्नु पर्ने र विभिन्न सघंसस्थाहरुलाई यस रोगको उन्मुलनकालागी हातेमालो गर्न आग्रह गरिएको थियो।