भैरहवा– ६ वर्षीया विधी ठकुरीको हातको औंलामा सामान्य बिबिरो आयो। भैरहवाकै एक बाल क्लिनिकमा उनको उपचार गर्न लगियो।
त्यहाँ उनलाई डाक्टरले जाँच गर्ने क्रममा क्यान्सर भएको आशंका गरे। ‘त्यतिबेला छाँगाबाट खसेजस्तै भइयो’, विधीका बुवा विष्णुबहादुर ठकुरीले भने।
त्यसपछि थप उपचारका लागि विधीलाई बा–आमाले चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगे।
डाक्टरको परामर्शमा त्यहाँ उनको क्यान्सरको जाँच गर्ने तयारी भयो। उनको रगत परीक्षण गरियो। परीक्षणमा रक्त क्यान्सर भएको देखियो। त्यसपछि बोनम्यारोमा क्यान्सर सरे÷नसरेको थाहा पाउन थप जाँच गर्नुपर्ने भयो।
बोनम्यारो जाँचको रिपोर्ट आउन १५ दिन लाग्ने अस्पतालले बताएपछि विधीको परिवार हतारिँदै भारतको राजीव गान्धी अस्पताल पग्यो।
त्यहाँ लगेपछि उनमा क्यान्सर भए/नभएको पुनः जाँच गरियो। जाँचका क्रममा क्यान्सर बोनम्यारोमा नसरेको पत्ता लाग्यो।
विधीको पूर्ण उपचारका लागि ८ लाख भारतीय रुपैयाँ लाग्ने अस्पतालले बताएपछि उनीहरू मारमा परे। ‘छोरीको उपचार निल्नु न उकेल्नुको अवस्थामा पुग्यौँ’, बुवा विष्णुबहादुर ठकुरीले भने।
जायजेथा बेच्दा पनि ८ लाख भारतीय रुपैयाँ जुटाउन नसक्ने निश्चित भएपछि निकै पीडामा परेको उनले सुनाए। ‘पैसा जुटाउन सकिएन, आयुर्वेदिक औषधिको सहारामा पुग्यौँ,’ उनले भक्कानिँदै भने।
त्यसपछि उनी भारतको एक संस्थाको सहयोगमा राजस्थानमा रहेको आयुर्वेदिक अस्पतालमा पुगे। अस्पतालमा डाक्टरले छोरीको क्यान्सर निको हुन्छ भन्दै मल्हम र केही औषधि दिएर पठाए।
तर, आयुर्वेदिक औषधिको सेवनपछि उनलाई निरन्तर पखाला र बोमिट (उल्टी) आउन थाल्यो। मल्हम र औषधिले विधीलाई असह्य पीडा भयो। उनी घाउको पीडाले दिन रात चिच्याएर रुन कराउन थालिन्।
उनको शरीर निकै कमजोर स्थितिमा पुग्यो।
थप उपचार गराउन सक्ने सामथ्र्य थिएन विष्णुबहादुरसँग। त्यस पीडाले छिमेकीलाई समेत असह्य गरायो।
उनी कसैको सहयोगमा थिए। छोरीको उपचार गराएर जीवन बचाउन चाहन्थे। यसैक्रममा उनको भेट लायन्स क्लब अफ सेन्टिनियलका द्वितीय उपाध्यक्ष राजेन्द्र थापासँग भयो। विष्णुबहादुरका छिमेकी पिताम्बर भुसालले थापासँग भेट गराइदिएका थिए।
विधीको अवस्था देखेर भावुक बनेका थापाले तत्काल क्लबसँग सल्लाह गरे।
त्यसपछि क्लबकै पहलमा विधीलाई काठमाडौंको कान्ति बाल अस्पतालमा लगियो।
‘उपचारका लागि काठमाडौं लैजाँदा उनलाई निको बनाएर फर्काउन सकिएला भन्नेमा आश्वस्त थिएनौँ,’ बुबा विष्णुबहादुरले विगत सम्झिए।
विधीको उपचारमा नेपाल क्यान्सर सोसाइटीका उपाध्यक्ष दिलिप भट्टराई र डा प्रकाश निधी तिवारी जुटेका थिए।
सरकारी अस्पतालमा हुन सक्ने ढिलाइ र विविध अफ्ठेरालाई छिचोल्दै उनको उपचारमा भयो।
अन्ततः उनको उपचार सम्भव भयो।उपचार सम्भव भएपछि खुसीको सीमान नरहेको बुवा बिष्णुबहादुरले बताए।
चार महिना लामो उपचारपछि भैरहवा आएकी विधीलाई लायन्स क्लब अफ सेन्टिनियलले आगामी दिनमा पनि सहयोग गर्ने बाचा गरेको छ।
विधीको उपचारमा लागेको ४ लाखमध्ये सवा लाख बढी लायन्सले सहयोग गरेको क्लवका अध्यक्ष ओम जैसीले बताए।
साथै उनको उपचारका लागि जम्मा गरिएको रकम मध्यको २५ हजार रुपैयाँको चेक पनि हस्तान्तरण गरिएको छ।
‘उपचारका लागि काठमाडौं लैजाँदा त विधीको शरीरमा हड्डी छालामात्र थियो, मैले त आस मारेको थिएँ,’छोरीको उपचार सफल भएपछि खुसी भएका उनका बुबाले भने, ‘मृत्युको मुखमा पुगेको मान्छेलाई फर्काएर ल्याउन सफल भएकाले हामी निकै खुसी छौँ।’
उनले आफूहरूका लागि लायन्स क्लब भगवानसरह बनेर आएको बताए। ६ वर्षीया बालिका विधी अहिले पूर्ण रुपमा खतरामुक्त छिन्।
उनको उपचार र स्वास्थ्य परीक्षण भने केही समयसम्म निरन्तर गर्नुपर्र्ने डाक्टरको सुझाव छ।
लायन्स क्लबका सिनियर एड्भाइजर नवराज न्यौपानेले विधीको उपचारका लागि परिवारलाई क्लबमार्फत ११ हजार हस्तान्तरण गर्ने घोषणा गरेका छन्।
त्यस्तै, ब्राइट स्टार इंग्लिस स्कुलका सहायक प्रिन्सिपल रामकुमार उपाध्यायले विधीलाई कक्षा १० सम्म आफैंले पढाउने घोषणा गरे।