काठमाडौं - उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले आमा सुरक्षा कार्यक्रममार्फत नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको बताएका छन्।
स्वास्थ्यसम्बन्धी साझेदारी बैठकलाई भारतको नयाँ दिल्लीमा आज सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालले समग्र स्वास्थ्यका कार्यक्रममार्फत मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार गरेको जानकारी दिए।
मन्त्री यादवले सबैका लागि स्वास्थ्य भन्ने नारालाई पूरा गर्न स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन र नसर्ने रोग न्यूनीकरणमा प्राथमिकता दिइएको चर्चा गर्दै बहुक्षेत्रीय समन्वयले मात्र स्वास्थ्यको उपलब्धि आउने विश्वास व्यक्त गरे। सोही अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधानमन्त्री यादवकाबीच द्विपक्षीय भेटघाट भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ। रासस