म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरमा खोप केन्द्रको भवन निर्माण भएको छ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बगरका बालबालिकालाई सहज रुपमा गाउँमै खोप सेवा उपलब्ध गराउन पूर्वाधार तयार पारिएको हो। गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम र सङ्गम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको सहयोगमा बगरका बासिन्दावासीले श्रमदान गरेर भवन निर्माण गरेका हुन्।
कदम म्याग्दीमार्फत प्राप्त नौ लाख २९ हजार, धौलागिरि गाउँपालिकाको रु एक लाख र स्थानीयवासीको चार लाख ७४ हजार १५० बराबरको श्रमदानमा एककोठे पक्की भवन निर्माण गरिएको स्थानीयवासी नरप्रसाद पुनले बताए।
भवन तयार भएपछि खोपकेन्द्रसँगै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनका लागि गाउँपालिकामा माग गरिएको उनले बताए। एकाइ सञ्चालन भएमा बगर र सिम्कोस गाउँका करीब ५० घरधुरी लाभान्वित हुने जनाइएको छ।
बगर र सिम्कोसका बासिन्दा सामान्य बिरामी पर्दासमेत पूरै दिन हिँडेर मुदीस्थित स्वास्थ्य संस्थामा पुग्न बाध्य छन् । ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र गभर्वती महिलालाई स्वास्थ्य संस्था टाढा हुँदा सहजरुपमा आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन्।
भिर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्दा जोखिम रहेको छ। सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि पहल गरिएको वडाध्यक्ष बेगप्रसाद घर्तीले बताए। रासस