गोरखा -गोरखा सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ।
फोहर व्यवस्थापनको अध्ययन गर्न गोरखा पुगेको ‘हेल्थकेयर फाउण्डेसन’ नामक संस्थाले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन राम्रो नभएको प्रतिवेदन सार्वजनिक गरेको हो।
अस्पतालले कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा मिसाएर फाल्ने गरेको, फोहर राख्ने भाँडामा चिन्ह नलेखिएको, कुन फोहर कहाँ फाल्ने भन्ने व्यवस्थासमेत नरहेको पाइएको संस्थाका निर्देशक महेश नकर्मीले बताए। अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गर्दा वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पार्ने निष्कर्ष अध्ययनले निकालेको छ।
अध्ययनपछि प्रतिवेदन सार्वजनिक कार्यक्रममा निर्देशक नर्कमीले 'गोरखा अस्पतालबाट दैनिक करीब ५० किलो फोहर निस्किने भए पनि त्यसको उचित व्यवस्थापन गर्न अस्पतालले नसकिरहेको बताए।' उनले अस्पतालबाट निस्कने फोहरको न्यूनीकरणमात्रै नभएर व्यवस्थापन पनि राम्रो हुनुपर्नेमा जोड दिए।'
अहिलेको तुलनामा केही वर्षपछि निस्कने फोहरको मात्रा बढी हुने भएकाले अहिलेदेखि नै पछिका लागि सोच्न नसके केही वर्षमा थप धेरै जटिल सिर्जना हुनसक्ने उनको तर्क छ। '१० दिनसम्म अस्पतालमै बसेर हामीले अध्ययन गरेका हाैँ, निर्देशक नकर्मीले भने, 'अस्पतालका फोहर फाल्ने बाल्टिनसमेत उचित ठाउँमा राखिएको रहेनछन्, कतिपय त आफू बस्ने टेबलमुनि समेत राखेको पाइयो जुन फोहर व्यवस्थापनका हिसाबले राम्रो मानिँदैन।'
त्यस्तै ७० प्रतिशतभन्दा बढी फोहर फ्याँक्ने बाल्टिनमा कुनै सङ्केतसमेत नभएको पाइएको निर्देशक नकर्मीले जानकारी दिए। ९५ प्रतिशतभन्दा बढी सिसा, कागज, प्लाष्टिक सबै एकै ठाउँमा मिसाएर फ्याँक्ने गरेकाले अस्पतालले पछि पुनःप्रयोग गर्न मिल्ने र नमिल्ने फोहर छुट्याउन चाहे पनि अप्ठ्यारो हुने उनको भनाइ छ।
अस्पतालबाट निस्कने फोहरमध्ये सुई बढी प्रयोग भएको र त्यसलाई व्यवस्थापन गर्दा सुरक्षित सुईको नियम पनि लागू भएको पाइएको प्रतिवेदनमा जनाइएको छ।
अस्पतालमा डम्पिङसाइडको पनि उचित व्यवस्थापन नभएको, सरसफाइको काम गर्ने कर्मचारीले सरसफाइ गर्दा सुरक्षित सामग्रीको प्रयोगसमेत नगर्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अध्ययनपछि संस्थाले जिल्ला अस्पतालको फोहर व्यवस्थापनका लागि तत्काल एउटा घर निर्माण गर्न सुझाव दिएको छ। घर निर्माण भए अस्पतालबाट निस्कने ९० प्रतिशत फोहर पुर्नप्रयोग गर्न सकिनेछ।
गोरखा नगरपालिकासँगको समन्वयमा अस्पतालबाट निस्कने फोहरको अध्ययन गरेको संस्थाले फोहर व्यवस्थापनका लागि समयसमयमा निरीक्षण गर्नुपर्ने सुझावसमेत दिएको छ।रासस