अहमदाबाद- भारतको अहमदाबादमा शुक्रबारदेखि आयुर्वेदको महाकुम्भ सम्मेलन तथा मेला सुरु भएको छ। वर्ल्ड आयुर्वेद कंग्रेसको आठौं संस्करण आयुष मन्त्रालय तथा विश्व आयुर्वेद फाउन्डेसनको आयोजनामा भइरहेको हो।
उद्घाटन सत्रमा बोल्दै गुजरातका मुख्यमन्त्री विजय रुपानीले आइटी क्रान्ति जस्तै आयुर्वेद क्रान्ति सम्भव भएकालेे यसको व्यापकता र प्रचारमा सबै पक्ष लाग्नुपर्ने बताए।
त्यस्तै आयुषमन्त्री श्रीपाद नायकले आयुर्वेदको डिजिटलाइजेसन सुरु भएको बताउँदै आयुष गुरु अनलाइन पोर्टलको सुरुवात गरे। उनले क्षार सुत्र बनाउने मेसिन समेत उद्घाटन गरे।
विश्वका करिब ६० भन्दा बढी देशका प्रतिनिधी सहभागी उक्त कार्यक्रममा नेपालबाट करिब २० जना विद्यार्थी तथा चिकित्सक समावेश भएको उक्त कंग्रेसका नेपाल संयोजक डा. सुमन खनालले जानकारी दिए।
४ दिनसम्म चल्ने कार्यक्रममा ३०० भन्दा बढी आयुर्वेद कम्पनीका उत्पादनका स्टल समेत प्रदर्शनीमा राखिएको छ।