कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा आज आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन्।
धनगढी नेपाल(आँखा अस्पताल)को प्राविधि तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन्। शिविरमा उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतियाबिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र चन्दले बताए। मोतियाबिन्दु भएका सबै जनाको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए।
“शिविरबाट आँखा कम देख्ने ३३० जनालाई निःशुल्करुपमा चस्मासमेत उपलब्ध गराएका छौँ”, उनले भने, “शिविरमा नजिकबाट पढ्न सकिने चस्मा उपलब्ध गराएका छौँ।” शिविरमा सहभागी अन्य अवस्थाका आँखाका बिरामीलाई अस्पतालबाट २५ प्रतिशत मूल्यमा छुट गरी चस्मा दिने व्यवस्था गरेका छौँ।”
शिविर सञ्चालन भएका क्षेत्रका दलित, जनजाति र विपन्न अवस्थाका आँखामा मोतियाबिन्दु भएका बिरामी अस्पतालमा आए शिविरमा फेला परेका मोतियाबिन्दुका बिरामीसँगै निःशुल्क शल्यक्रिया गरिने प्रबन्धक चन्दले बताए।
आँखाबाट पानी बग्ने, आँखामा मासु पलाएका र जलबिन्दु भएका बिरामीसमेत शिविरमा फेला परेको उनले बताए। शिविरमा आँखा जाँचका लागि पुगेका सुगर र प्रेसर भएका अधिकांशमा आँखाको जटिल समस्या देखिएको उनको भनाइ छ। शिविरमा आँखा उपचारमा पुगेका बिरामीलाई औषधि र परामर्शसमेत निःशुल्करुपमा प्रदान गरिएको छ। आँखामा शिविरका लागि औषधि खरीद गर्न नगरपालिकाले रु ५५ हजार बढी रकम उपलब्ध गराएको छ। रासस