काठमाडौं – भृकुटीमन्डमा तीन दिने नेपाल मेडिकल ल्याब एक्स्पो चलिरहेको छ। शुक्रबारबाट चलेको एक्स्पोमा स्वास्थ्य क्षेत्रमा चासो राख्नेहरु अवलोकनका लागि पुगिरहेका छन्।
एक्सपोमा सर्जिकल र मेडिकल उपकरणका २०० भन्दा बढी स्टल राखिएका छन्। नेपालसहित भारत, पाकिस्तान, इजरायल, चीन आदि देशबाट आएका कम्पनीहरुले एक्स्पोमा सहभागिता जनाएका छन्।
एक्स्पोमा सानादेखि ठूला उपकरणहरु राखिएका छन्। तर, तीमध्ये हेर्दा साना लाग्ने तर काम भने ठूलो गरेने माइक्रो उपकरणमा धेरैले चासो दिएर हेरिरहेका छन्।
एक्स्पोमा धेरैको मन तानिरहेका ५ उत्पादनका बारेमा हामीले यहाँ जानकारी दिएका छौं।
पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर
यो पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर क्यान इन्टरनेशनल कम्पनीले नेपालमा ल्याएको हो। यो अमेरिकन कम्पनी हो । यो पोर्टेबल अक्सिजन कन्सन्टे«टर २.२ केजीको रहेको छ । यो विशेषगरी आज्मा बिरामीहरु र जसलाई अक्सिजन आवश्यक परिराख्नेको लागि उपयोगी छ। जो बिरामी छन् तर घुम्न जान चाहन्छन् उनीहरुलाई यो लाभदायक हुन्छ ।अग्लो ठाउँ तथा क्याम्पहरुमा जाँदा पनि यो राम्रो छ। यसमा दुई किसिमको ब्याट्री रहेको छ। एउटा ८ सेल र अर्को ४ सेलको। ८ सेलकोले ४.५ घण्टा काम गर्छ भने १४ सेलकोमा ९ घण्टाको ब्याट्री ब्याकअप रहेको छ। यो गाडीहरुमा पनि चार्ज गर्न मिल्छ । यो मेसिन नआउँदा सम्म अक्सिन आवश्यक परिराख्ने मानिसहरुले अक्सिजन सिलिन्डर बोकिराख्नुपथ्र्यो। यसको मूल्य ३ लाख ६७ हजार रहेको छ।
कुमार दाहाल, प्रोप्राइटर, क्यान इन्टरनेशनल
वायरलेस अल्ट्रासाउण्ड
यो अल्ट्रासाउण्ड सोनोस्टार टेक्नोलोजिले ल्याएको हो। यो चाइनिज कम्पनी हो । यसलाई नेशनल बायो मेडिकल प्रालिले नेपालमा ल्याएको छ। यो थाइरोड सर्जरी, प्रत्यारोपण, डर्माटोलोजी, नर्सिङ, प्लास्टिक सर्जरी आदि क्षेत्रमा लाभदायक छ। यो वायरलेस अल्ट्रासाउण्डमा वाइफाइ चाहिँदैन। यो रिमोट तथा फोन जस्तै देखिन्छ। योे मोबाइल, कम्प्युटर जसमा पनि एप डाउनलोड गरी काम गर्न सकिन्छ। हटस्पट अन गरेपछि यसले आफ्नो काम सुरु गर्छ। यसले १० मिटरको दुरीसम्म टिप्छ। यो मेसिन चार्ज गर्न मिल्छ र यसमा दुई वर्षको वारेण्टी रहेको छ। यसमा सिंगल प्रप र डबल प्रप भन्ने हुन्छ। सिंगलको १००० डलर पर्छ भने डबलको ३००० डलर पर्छ। यसले छिटो छरितो चेकअपको लागि मद्दत गर्छ।
शेखर श्रेष्ठ, नेशनल बायो मेडिकल प्रालि
जेब्राको हस्पिटल म्यानजेमेन्ट सिस्टम
अमेरिकन कम्पनीमा हस्पिटल म्यानेजमेन्ट सिस्टमको उपकरणहरुमा राम्रो मानिएको जेब्रा कम्पनीको उपकरण नेपालमा मालिका इनकरपोरेट प्रालिले ल्याएको हो। यसमा प्रयोग हुने स्मार्टफोन जस्तो मेसिनलाई १ लाख ८० हजार रुपैँया पर्छ। यसमा ५ वर्षको वारेन्टी रहेको छ। यो वाटरप्रुफ छ र जमिनमा खस्दा पनि फुट्दैन। जसरी कुनै बिरामी अस्पताल सेवा लिन जाँदा उसको सम्पूर्ण विवरण ओपिडी कार्र्डमा हुन्छ । त्यो ओपिडी कार्ड अस्पतालको हरेक वार्डमा देखाउनुपर्ने हुन्छ जुन झन्झट हुन सक्छ। तर यो मेसिनले त्यो झन्झटको अन्त्य गर्छ। यसमा ओपिडी कार्डको सट्टा इलेक्ट्रोनिक कार्ड दिइन्छ जुन त्यो मेसिनले डिटेक्ट गर्ने बित्तिकै सम्पूर्ण बिरामीको विवरण त्यो मेशिनमा आउँछ। त्यो मेशिनसँगको नेटवर्किङ अस्पतालको हरेक कम्प्यूटरमा भएपछि डाक्टरलाई पनि सजिलो हुन्छ। उनले फाइल बोकेर बिरामीको बेडमा जानुपरेन । उनले बिरामीलाई प्रेस्कृस्पन पनि त्यही मेसिनमा इन्ट्री गर्छन् र त्यो जानकारी फार्मेसीमा पनि पुग्छ। बिरामी भर्ना हुँदा पनि उसलाई बारकोड हातमा लगाइन्छ र त्यसलाई त्यो मेसिन मार्फत डिटेक्ट गर्दा बिरामीको सम्पूर्ण विवरण देखाइदिन्छ। यो पेपरलेस हस्पिटल म्यानेजमेन्ट सिस्टम हो ।
सुरेन्द्र ढकाल, मालिका इन्करपोरेटिभ प्रालि
फाइनकेयर
फाइनकेयर प्याथोलोजी ल्याब उपकरण हो । यसले विभिन्न टेस्टहरु छिटो छरितो गर्छ। यसले प्याथोलोजी सम्बन्धी विभिन्न टेस्टहरु गर्छ। यो चाइनिज कम्पनी हो ।प्याथोलोजीका टेस्टहरु गनुपर्ने मेसिन पहिला २० देखि २५ लाख सम्म पर्थे भने यो मेसिन उनीहरुको तुलनामा सस्तो छ र काम पनि धेरै गर्न सक्छ । यसको मूल्य १ लाख रहेको छ भने यो बिग्रेको खण्डमा कम्पनीले नयाँ मेशिन दिने गरेको छ। यो मेशिन नेपालका विभिन्न अस्पतालमा प्रयोग भइराखेको छ। यसलाई नेपालमा बिएसआर बायोटेक प्रालिले ल्याएको छ।
नविन कोइराला, म्यानेजिङ डिरेक्टर, बिएसआर
होम केयर उपकरण
बिपिएल मेडिकल टेक्नोलोजीले विभिन्न होम केयरका उपकरणहरु ल्याएको छ। थर्मोमिटर, सुगर, प्रेसर नाप्ने आदि घरमै आफैंले टेस्ट गर्ने सजिलो मेसिन ल्याएको छ। यसलाई लुम्बीनी हेल्थ केयरले ल्याएको हो।
सुजन पौडेल, म्यानेजर, बिपिएल मेडिकल