बाजुरामा सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ वर्षीया गर्भवतीलाई आइतबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ। साविकको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोला काँडा घर भएकी रामकला नेपालीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पुर्याइएको हो।
सुत्केरी व्यथा लागेपछि चार दिनअघि नै स्वास्थ्य चौकीमा भर्ना भएकी नेपालीलाई प्रसूतिमा कठिनाई भएको भन्दै स्वास्थ्यकर्मीहरुले रिफर गरेका थिए। ‘हामीबाट सम्भव नहुने भएपछि रिफर गरिसकेका थियौ’ स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले परिवारले बाहिर लैजान सकेका थिएनन्।’
सुत्केरी हुन नसकेर रामकलाको ज्यान जोखिममा पर्दै गएपछि स्थानीय रेडक्रसका प्रतिनिधिको सक्रियतामा प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहलाई गुहारेका थिए । मन्त्री शाहले सामाजिक विकास मन्त्रालयस“ग समन्वय गरी सिम्रिक एयरको हेलिकोप्टरबाट सुत्केरीको उद्धार गराएका हुन्।
रामकलाको २० वर्ष नपुग्दै विवाह भएको थियो । उमेर नपुगी बच्चा जन्माउ“दा जोखिम हुने स्वास्थ्यकर्मीहरु बताउ“छन् । सुदूरपश्चिम प्रदेश सरकारले दुर्गम पहाडी जिल्लामा अप्ठेरोमा परेका गर्भवतीहरुलाई हवाई माध्यमद्वारा उद्धार गर्न वार्षिक बजेटमै एक करोड विनियोजन गरेको छ । यसअघि बाजुरा र बझाङका २ गर्भवतीलाई हवाई माध्यमद्वारा उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए।
सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङका धेरैजसो गाउ“बस्ती सडक यातायातको पहु“चबाट टाढा छन् । विकट गाउ“बाट साविकका गाविसमा रहेका स्वास्थ्य चौकीसम्म पुर्याउन पनि घण्टौंसम्म डोकोमा बोकेर हिँड्नुपर्ने बाध्यता छ।