काठमाडौं– नेपालमा स्ट्रोकसम्बन्धी रोगको उपचारमा सहयोग पुर्याउने र यसको छिटो समाधान गर्ने उद्देश्यका साथ स्ट्रोक थ्रोम्बोलाइसिस मास्टर क्लास २०१८ आयोजना गरिएको छ।
सिनर्जी कर्पोरेसन र नेपाल स्ट्रोक एसोसिएसनद्वारा संयुक्त रुपमा नेपाली डाक्टरहरुलाई स्ट्रोक म्यानेजमेन्ट र त्यसको उपचारको बारेमा जानकारी दिने उद्देश्यले दुई दिने तालिम आयोजना गरिएको हो।
तालिमका बारेमा बोल्दै प्रोफेसर डा जगदीशप्रसाद अग्रवालले सीमित मानिसमा मात्र अस्पतालको पहुँच भएको हाम्रो जस्तो देशका लागि यो कक्षा निकै सहयोगी हुने बताए।
उनले भने, ‘१० वर्षअघि स्ट्रोक थ्रोम्बोलाइसिसबारे धेरै डाक्टरलाई पनि जानकारी थिएन, तर अहिले धेरै जानकारी भएको छ, स्ट्रोकले मानिसको ज्यान नै जाने हुँदा जनचेतनामूलक कार्यक्रम गर्नु सबैभन्दा राम्रो हो।’
कार्यक्रममा नेपाल स्ट्रोक एसोसिएसनका अध्यक्ष डा लेखजंग थापाले विश्वभर ८६ प्रतिशत मानिसको स्ट्रोकको कारण मृत्यु हुने गरेको जानकारी दिंदै अन्य रोगभन्दा यो रोगको असर बढी हुन लागेको बताए।
‘तथ्यांकहरुलाई हेर्दा २५ प्रतिशत हस्पिटल भर्ना स्ट्रोकको कारण हुने गरेको देखिन्छ र ५९ वर्षभन्दा माथि उमेरका मानिसमा अधिक मात्रा यो रोग लागेको भेटिएको छ,’ डा. थापाले बताए।
नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अस्पतालमा हुने हरेक गल्तीमा डाक्टरलाई मात्र दोष दिने गरिएको गुनासो गरे।
उनले भने, ‘बिरामीको उपचार टिम वर्क हो, जसमा डाक्टर, नर्ससहितको टिमले बिरामीको उपचार गर्दछ, तर केही भएमा तोडफोड गर्ने र क्षतिपूर्ति माग गर्ने काम बढिरहेको छ, यो रोकिनुपर्दछ।’
उनले आगामी दिनमा स्ट्रोकको उपचारमा संघले पनि एसोसिएसनसँग मिलेर काम गर्ने प्रतिबद्धता जाहेर गरे।
डा मधु दीक्षित देवकोटाले स्ट्रोक थ्रोम्बोलाइसिसको तालिमले सबैलाई समेट्ने र सो रोगबारे डाक्टरहरुको क्षमता अभिवृद्धि गर्ने बताइन्।
‘यो मास्टर क्लासले आगामी दिनमा उपचारको स्तर वृद्धि गर्नेछ र युवा डाक्टरको नयाँ समूह आउने छ, जसले उपचारको स्तरलाई माथि उठाउन सहयोग गर्नेछ,’ डा. देवकोटाले भनिन्।
कार्यक्रम स्ट्रोक थ्रोम्बोलाइसिस मास्टर क्लास उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्स (न्यूरो अस्पताल, बाँसबारी) मा शुक्रबार र शनिबार आयोजना गरिएको हो।
स्ट्रोक थ्रोम्बोलाइसिस मास्टर क्लासमा सो विषयका विशेषज्ञहरु डा सञ्जय कार्की, डा मनोज कुमार, डा रामकुमार घिमिरे, डा राजु पौडेल, डा बाबुराम पोखरेल, डा पंकज जलान, डा विवेक रौनियार, डा अभिनास चन्द्र, डा लेखजंग थापाले नेपालभरबाट छनोट गरेर आएका करिब ३० जना डाक्टरलाई स्ट्रोक थ्रोम्बोलाइसिस उपचार विधिबारे जानकारी दिए।