भक्तपुर- उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशभरका सरकारी अस्पतालमा सेवा, सुविधा र प्रविधिको विकास गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मन्त्रालयले भक्तपुरको बोडेमा आयोजना गरेको दुईदिने राष्ट्रिय वार्षिक समिक्षामा बोल्दै उनले गुणस्तरीय सेवा र अस्पतालमा भएको प्रविधिको विकास गर्न सके मात्रै बिरामीले पनि सेवा सुविधाबाट बच्चित हुनुनपर्ने जानकारी गराए।
देशभर सञ्चालित अस्पताल र स्वास्थ्य चौकीमा कस्तो सेवा सुविधा प्रदान भइरहेको छ, त्यसको अनुगमन गरी समस्या भए छिट्टै समाधान गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अस्पतालको सङ्ख्यामा वृद्धि गर्दै सेवा र सुविधाबाट कोही पनि बञ्चित नहुने गरी सेवा दिनु आवश्यक रहेको औंल्याए। कार्यक्रममा देशभरका जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय कार्यालय, प्रदेश कार्यालयलगायतका प्रतिनिधि र दातृ राष्ट्रका प्रतिनिधीको सहभागिता रहेको छ।