दैलेख– गुराँस गाउँपालिकामा सुरक्षित प्रसूति गराउनेको संख्यामा वृद्धि भएको छ। विभिन्न वडामा स्वास्थ्य इकाई र वर्थिङ सेन्टर स्थापना भएपछि अस्पतालमै गएर सुत्केरी हुनेको संख्यामा वृद्धि भएको हो।
गाउँपालिका स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार गत वर्षको तुलनामा यो वर्ष सुरक्षित अस्पतालमै गएर प्रसूति हुनेको संख्यामा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा एक सय २ जना अस्पतालमै गएर सुत्केरी भएका थिए भने यो आर्थिक वर्षको कात्तिकसम्म एक सय ९ जना अस्पतालमा सुरक्षित रुपमा सुत्केरी भएका छन्।
उनले मानिसमा चेतनाको स्तर बढेको भन्दै विगतमा भन्दा अहिले अधिकांश महिलाले नियमित गर्भ जाँचसमेत गर्ने गरेको बताए।
गुराँस गाउँपालिकाका ८ वटै वडामा स्वास्थ्य चौकी र इकाई रहेका छन्। भने केही वडाहरुमा वर्थिङ सेन्टरहरु पनि सञ्चालनमा आएपछि अस्पतालमै प्रसूति हुनेको संख्यामा वृद्धि भएको हो।
साउनदेखि कात्तिकसम्मको डाटालाई हेर्ने हो भने सेरीबाडा स्वास्थ्य चौकीमा मात्रै १९ जना सुत्केरी भएका छन्। त्यस्तै, सेरी स्वास्थ्य चौकीमा ८ जना, खड्गबाडा स्वास्थ्य चौकीमा ४५ जना सुत्केरी भएका छन्।
यस्तै, गोगनपानी स्वास्थ्य चौकीमा १३ जना, पिलाडी स्वास्थ्य चौकीमा ७ जना, लालिकाँडा स्वास्थ्य चौकीमा १२ जना महिलाको सफल प्रसूति गराइएको छ भने सेप्टी स्वास्थ्य चौकीमा ५ जना सुत्केरी भएका छन्।
उनले गुराँस गाउँपालिकालाई जिरो होम डेलिभरी बनाउने लक्ष केही वर्षमै पूरा हुने दाबी गरे। गाउँपालिका भित्रका स्वास्थ्य चौकीमा औषधि तथा सामग्रीको अभाव भने अझै कायम रहेको बताइएको छ।