काठमाडौं- सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेपछि डा गोविन्द केसीले भोली बुधबारबाट अनसन सुरु गर्ने भएका छन्।
यो पटक डा केसी इलाममा अनसन बस्ने भएका छन्। अनसनको तयारीका लागि डा केसी इलाम पुगिसकेको डा केसीका सहयोगी डा अभिषेक सिंहले जानकारी दिए। उनका अनुसार डा केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन्।
'अनसनको तयारीका लागि नै उहाँ इलाम पुगिसक्नु भएको हो,' उनले भने, 'आज उहाँले दिएको अल्टिमेटम सकिएकाले भोलीबाट अनसन सुरु गर्ने तयारी भएको हो।'
डा केसीको यो १६ औं अनसन हो।
डा केसीको माग र सरकारले विगतमा गरेको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छैन।
सरकारलाई माग पुरा गर्न पटक पटक समय दिँदा पनि आलटाल गरेको भन्दै उनले १६ औं अनसन सुरु गर्न लागेका बताएका छन्।
डा केसीले यसअघि २ गते सोमबारसम्मको अल्टिमेटम दिएका थिए। अल्टिमेटम दिँदा पनि सरकारले मागको विषयमा सुनुवाई नगरेपछि डा केसीले अनसन सुरु गर्ने तयारी गरेका थिए। तर, संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले केही समय दिन आग्रह गरेपछि १७ गतेसम्मको समयसिमा दिएका हुन्।
तर यो समय पनि घर्किएका कारण उनले पुन: अनसन सुरु गर्न लागेका हुन्।
डा केसीले सरकारसँग ३ बुँदे माग राखेका छन्।
डा केसीले राखेका मागहरुः
१. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस्।
क) सम्झौताबमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस्।
ख) गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस्। त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गरियोस्।
ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस्।
२. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस्।
३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरियोस्।
