हुम्ला– सुत्केरी अवस्थामा आमा र नवजात शिशुको सुरक्षाका लागि न्यानो झोला उपहार दिन थालिएको छ।
सरकारी सूचीकृत स्वास्थ्य संस्थामा प्रसूति हुन आउनेलाई आमा र नवजात शिशुको स्याहारसुसारमा सहयोग पुर्याउने उद्देश्यले सरकारले न्यानो झोला उपहार दिने कार्यक्रम ल्याएको हो।
उपहारस्वरुप दिइने न्यानो झोलामा आमालाई एक जोर लुगा, बच्चालाई टोपी, मोजा र्यापर र नेपकिन दुई/दुई जोरको व्यवस्था गरिएको छ।
स्वास्थ्य संस्थामा प्रसुति हुँदा प्रोत्साहन रकमसँगै न्यानो झोला उपहार पाइने भएपछि हुम्ला जिल्ला अस्पतालमा गत वर्ष भन्दा यो वर्ष सुत्केरी हुनेको संख्यामा समेत बढोत्तरी भएको छ।
स्वास्थ्य संस्थामा प्रसुति सेवा लिने महिलालाई न्यानो झोला उपहार दिने गरिएको जिल्ला अस्पताल हुम्लाका निमित्त प्रमुख डा टर्सी लामाले जानकारी दिए। गुणस्तरीय स्वास्थ्य सेवा र प्रोत्साहन रकमसँगै न्यानो झोला दिँदा यो वर्ष सुत्केरी गराउनेको संख्या उल्लेख्य मात्रामा बढेको डाक्टर लामाले बताए।
लामाका अनुसार जिल्ला अस्पताल हुम्लामा गत वर्ष २ सय ६ जना सुत्केरी भएकोमा हाल ६ महिनाको अवधिमै १ सय २० जनाले प्रसुति सेवा लिइसकेका छन्। गर्भवति भएको समयमा ५० जना महिलाले ४ पटकसम्म जाँच गराएका थिए।
जिल्ला अस्पताल हुम्लामा सुत्केरी गराउन आउने महिलाहरुलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ दिने व्यवस्था छ। ४ पटक जाँच गराउन आउने महिलालाई थप ८ सय रुपैयाँ दिने गरिएको अस्पतालले जनाएको छ।
हुम्लाका सुत्केरी महिलाहरुका लागि भन्दै युनिसेफ नेपालले २ सय र जिल्ला अस्पतालले ५० वटा न्यानो झोलाको व्यवस्था गरेका छन्।