रुपन्देही – प्रदेश–५ सामाजीक विकास मन्त्रालयले आफ्नो क्षेत्रमा रहेको स्वास्थ्यकर्मीको अभाव चिर्न स्वयम् सेवक माग गरेको छ । स्वयंसेवाका लागि ल्याब असिस्टेन्ट १२, अनमी २१, अहेव १५, हेल्थ असिस्टेन्ट १, स्टाफ नर्स १ र मेडिकल अधिकृत १ गरी ५१ जना मागिएको हो।
कर्मचारी अभाव रहेको स्वास्थ्य संस्थामा स्वयंसेवाका लागि इच्छुकहरुलाई पठाउने तयारी मन्त्रालयले गरेको छ ।
स्वयंसेवकलाई मासिक निर्वाह भत्ता उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले उमेरको हद नतोकेका कारण जुनसुकै उमेरका इच्छुक उम्मेदवारले स्वयंसेवाका लागि आवेदन दिन सक्ने मन्त्रालयका प्रकक्ता मित्रमणि खनालले बताए।
इच्छुकलाई मिति २०७५ पुस १६ देखि ३० सम्म कार्यालय समयभित्र विषय क्षेत्र तोकी आवेदन दिन भनिएको छ । छनोटमा पर्ने स्वयंसेवकलाई ०७६ असार मसान्तसम्म परिचालन गर्ने खनालले बताए।
इच्छुक उम्मेदवारले शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, परिषद् दर्ता प्रमाणपत्रका प्रतिलिपि, समकक्षता खुलाउनुपर्ने आवश्यक भएमा सो खुल्ने कागजातसहित सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखामा आवेदन पेस गर्न भनिएको छ।
स्वयंसेवक परिचालन हुने प्रदेशअन्तर्गतका १२ जिल्लाभित्रका स्थानमा काम गर्ने पद उपलब्ध भएसम्म सोही जिल्लामा स्थायी ठेगाना हुने उम्मेदवारलाई योग्यताक्रमका आधारमा स्थान छनोट गराई खटाइने मन्त्रालयले जनाएको छ।