काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आइतबार बसेको औषधि परामर्श परिषद्को १५ औँ बैठकमा औषधिको मूल्य निर्धारण, अनुगमन समिति निर्माण तथा प्रभावकारी व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो।
बैठकमा औषधि व्यवस्था विभागलाई सुदृढ बनाउने, गुणस्तरीय औषधि उत्पादन तथा आयात व्यवस्थापन गर्ने विषयमा बैठकमा छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। आगामी दिनमा औषधिको व्यवस्थापन गर्न मन्त्रालयका पदाधिकारी, औषधि उत्पादक र आयातकर्ताबीचमा छलफल गर्ने बैठकले निर्णय गरेको छ।
सो अवसरमा उपप्रधानमन्त्री यादवले औषधि ऐनको विनियमावली बनाउँदा औषधिको मूल्य जनताले धान्नसक्ने हुनुपर्नेमा जोड दिँदै औषधिको गुणस्तर र मूल्य सन्तुलनमा ध्यान दिन निर्देशन दिए।
उनले औषधि उत्पादकको गुनासोलाई ध्यानमा राख्दै स्वदेशी उद्योगलाई संरक्षण गर्दै गुणस्तरीय र उत्पादन क्षमता वृद्धि गर्दै लाने, आयातलाई थप व्यवस्थित गर्न निर्देशन दिए।
उपप्रधानमन्त्री यादवले औषधि व्यवसायीले गुणस्तरीय उत्पादन बढाउन ध्यान दिन र विश्वस्वास्थ्य सङ्गठनको मापदण्डलाई तलमाथि नगरी अघि बढ्न, लाइसेन्स र नवीकरण गर्ने जटिलता हटाउने तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिइने जानकारी दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। रासस