काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भटटराईले डा गोविन्द केसीलाई आफ्नो छवि जोगाउन सुझाएका छन्।
सोमबार संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै नेता भट्टाराईले अभियन्ताको रुपमा बनाएको छवि स–सानामा कुरामा नगुमाउन सुझाएका हुन्।
सोमबार बिहान पत्रकार सम्मेलनमा प्रधानमन्त्री, पूर्व मन्त्री र आफूमाथि निम्नस्तरको टिप्पणी गरेर डा केसीले स्तर स्खलन गरेको योगेशको आरोप थियो। ‘डा केसीले अभियन्ताको रुपमा विशिष्ट छवि बनाउनु भएको छ। यस्ता स–साना कुरामा अल्झेर बनेको छवि नगुमाउन उहाँलाई आग्रह गर्दछु’, भट्रराईले थपे, ‘आफूहरूमाथि प्रयोग गरेका शब्दले उहाँलाई जीवनभर पोल्ने छ।’
देशलाई अप्ठेरो परेको बेला डा केसी जस्ता छवि भएका मान्छे आवश्यक रहने भन्दै नेता भट्टराईले सो छवि कायम राख्न आग्रह गरे। भने, ‘इज्जत खोज्नेले इज्जत जोगाउनु पनि पर्छ।’
चिकित्सा शिक्षा विधेयकमा उल्लेख भएका व्यवस्थाका सम्बन्धमा डा केसी र नेता भट्टराईबीच सामाजिक सञ्जालमा समेत सवालजवाफ चलेको थियो। सोमबार बिहान पत्रकार सम्मेलन गरी डा केसीले सहमतिविपरित चिकित्सा शिक्षा विधयेकको प्रतिवेदन तोडमोड गरेको आरोप लगाउँदै उक्त प्रतिवेदन नसच्याए पुस २५ अघि नै अनसन बस्ने चेतावनी दिएका थिए।