जनकपुर– महोत्तरीका स्वास्थ्य सेवाको पहुँच नपुगेका ६२ वडामा स्वास्थ्यचौकी स्थापना गरिने भएको छ ।
नेपाल सरकारको ‘एक वडा एक स्वास्थ्यचौकी’ योजना अन्तर्गत स्वास्थ्यचौकी निर्माणको क्रम जारी छ।
संघीय सरकारका स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले उपचार कै अभावमा कसैले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले सरकारले यस्तो ल्याएको बताए।
महोत्तरी कै क्षेत्र नम्बर ४ बाट निर्वाचित स्वास्थ्य राज्यमन्त्री यादवले चौकी स्थापनापछि अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु हुने बिरामीको संख्या घट्ने बताए ।
हाल महोत्तरीमा ७० स्वास्थ्य चौकी, २ अस्पताल र ५ प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) मात्र रहेको र यी नै स्वास्थ्य संस्थाले जिल्लाको ६ लाख ६७ हजार ५ सय ८० जनसंख्याको स्वास्थ्योपचार धानिरहेको अवस्था छ।
एक हेल्थ पोस्टमा हेल्थ असिस्टेन्ट १, अहेब ३, अनमी २ र कार्यालय सहयोगी १ को व्यवस्था रहेको छ।
यता स्वास्थ्य मन्त्रालयले स्थापना हुन लागेका हेल्थपोस्ट मध्ये औरही नगरपालिकाको वडा नम्बर ३ र ४, बल्वा नगरपालिकाको वडा नम्बर ८, मनरा सिस्वा नगरपालिकाको वडा नम्बर २ र ७, रामगोपालपुर नगरपालिकाको वडा नम्बर ७, सम्सी गाउँपालिकाको वडा नम्बर १ र सोनमा गाउँपालिकाको वडा नम्बर ४ र ७ लाई टाइप एकमा राख्दै ६३ लाख ४६ हजार ६ सय ३० रकम विनियोजन गरिएको बताइएको छ।
यी वडामा बर्थिङ सेन्टरसहितको हेल्थपोस्ट सञ्चालन हुनेछ भने बाँकी अन्यको लागि ३८ लाख ८६ हजार ९ सय २० रकम छुट्याएको छ।
राज्यमन्त्री यादवले महोत्तरीका हाल सञ्चालनमा रहेको पाँच पिएचसी गौशाला, सम्सी, रामगोपालपुर, लोहारपट्टी र पिपराको स्तरोन्नति गर्दै अस्पतालमा परिणत गर्ने समेत बताए।