जाजरकोट— जाजरकोटको नलगाड नगरपालिका–४ लहँ खालचौरस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहको भवनमा नौ वर्षदेखि ताला लागेको छ ।
बत्ती, पानी, घेराबार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोगविहीन भएको हाे । समुदाय सहयोग कार्यक्रम केयर नेपाल संस्थाको रु नौ लाख ८० हजार आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको समन्वयमा २०६७÷०६८ सालमा उक्त भवन निर्माण भएको थियो । भवन प्रयोगमा नआउँदा महिलालाई सुरक्षित सुत्केरी सेवा लिन समस्या भएको स्वास्थ्यचौकीकी अनमी जयन्ती शाहीले बताइन ।
प्रसूति गराउन समस्या छ, पुरानो जीर्ण भवनको एउटा कोठाबाट सेवा प्रवाह हुँदै आएको अनमी शाहीले जानकारी दिनुभयो । नयाँ भवन बनेको छ, प्रयोगमा छैन यसले समस्या बनाएको छ, शाहीले भनिन् । दिनमा तीन÷चार जना महिला सुत्केरी हुन आए भने राख्ने ठाउँ नै हुँदैन, खुला ठाउँमै राखेर भए पनि सेवा दिनुपर्ने बाध्यता छ, शाहीको भनाइ छ । भवन प्रयोगविहीन हुँदा सेवा दिन कठिन भइरहेको छ उनले भनिन्र ।
सुत्केरीको लागि बनेको घर प्रयोगमा नआउनु दुःखको विषय भएको अहेब कृष्णबहादुर शाह बताउँछन्र। खानेपानी, बिजुली बत्तीको व्यवस्था, वरिपरि घेराबार, सुत्केरी गराने श्ययालगायतको व्यवस्था नहँुदा यो भवन प्रयोगमा आउन नसकेको अहेब शाहको भनाइ छ । स्वास्थ्य संस्थामा बजेट नहुने र वडा, नगर, जिल्लाबाट बजेट व्यवस्था नहुँदा भवन प्रयोगमा ल्याउन नसकिएको हो, शाहले भने ।
यो संस्थामा साविकको लहँ गाविसको वडा १ भारगाउँ, २ को थाप्ला, ३ को मानचौर, ४ को माझगाउँ, ५ को बाउँसेखोला, ६ को पोखरा, ७ को मुली, ८ को ऐराडी, ९ गर्छिनाबाट महिला स्वास्थ्य जाँच तथा सुत्केरी हुन आउने गर्छन् तर भवनको उचित व्यवस्थापन नहँुदा सुत्केरी सेवा लिन बाहिर जानु पर्ने बाध्यता रहेको छ ।