काठमाडौं- नेपाल जनस्वास्थ्य संघले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत रहने केन्द्रीय जनस्वास्थ्य विभाग गठनको प्रक्रियाको पूर्णतामा ढिलाई भएको भन्दै डिन प्राडा जगदीश प्रसाद अग्रवाललाई ध्यानाकर्षण गराएको छ।
संघले त्रिवि कार्यकारी परिषदद्वारा गठनको निर्णय भएको लामो समय वितिसक्दा पनि आइओएमले विभाग गठनकोमा वेवास्ता गरेको भन्दै छिटो भन्दा छिटो विभाग गठनको माग गरेको छ। संघले विभाग गठनमा वेवास्ता गरे कडा भन्दा कडा कार्यक्रम गर्ने चेतावनी दिएको छ।
संघका अध्यक्ष श्रीकृष्ण भट्ट, महासचिव महेश्वर श्रेष्ठ लगायतको टिमले ध्यानाकर्षण गरेका हुन्। उनीहरुले यसअघि त्रिवि उपकुलपति,रजिस्ट्रार तथा रेक्टरलाई ध्यानाकर्षण गराएका थिए।
विगत दुई वर्ष देखि जनस्वास्थ्य क्षेत्रको विकासको लागि निरन्तर रुपमा आइओएम अन्तर्गतको स्ववियु तथा नेपाल पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटीको आन्दोलनपश्चात डिन तथा क्याम्पससँग पटकपटक लिखित संझौता गरेतापनि अहिलेसम्म जनस्वास्थ्य विधाको अधिकांश मागहरु पुरा नभएको केन्द्रीय सदस्य तथा आईओएमका विद्यार्थी नेता कमल रानाभाट बताउँछन्।
त्रि.वि कार्यकारी परिषदबाट जनस्वास्थ्य केन्द्रीय विभाग गठन गर्ने निर्णय भएको चार महिना बितिसक्दा समेत आईओएमका डिन डा अग्रवालले गठन प्रक्रियालाई अगाडी नबढाएको भन्दै महाराजगन्ज मेडिकल क्याम्पस, आइओएमको स्ववियुले प्रमुख माग राख्दै विगत १ महिनादेखि क्याम्पस तथा डिन कार्यलयमा तालाबन्दी समेत गरेको छ।