काठमाडौं– दुर्घटना तथा विभिन्न समस्याका कारण खुट्टा गुमाएका ५ सय भन्दा बढी व्यक्तिलाई निशुल्क कृत्रिम खुट्टा उपलब्ध हुने भएको छ।
चौधरी फाउन्डेसन र नर्भिक अस्पतालको सहकार्यमा भारतको भगवान महावीर अपाङ्गता सहायता समितिले काठमाडौं र नवलपुरमा ५ सय भन्दा बढीलाई कृत्रिम खुट्टा उपलब्ध गराउने भएको हो।
नर्भिकमा आइतबार आयोजित कार्यक्रममा ५१ जनालाई कृत्रिम खुट्टा उपलब्ध गराइएको छ। नवलपुरमा विशेष शिविर मार्फत खुट्टा गुमाएकाहरुमा कृत्रिम खुट्टा प्रत्यारोपण गर्न लागिएको हो।
नर्भिकमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले ६ वर्षकी बालिका रियाकुमारी कुशवाहालाई कृत्रिम खुट्टा लगाइदिएर शिविरको औपचारिक सुरुवात गरेका छन्।
कार्यक्रममा मन्त्री यादवले नेपालमा यस्ता कृत्रिम हातखुट्टा राख्ने स्थायी संरचनाको आवश्यकता रहेको बताए। उनले यस्तो संस्थालाई सरकारले सहयोग गर्न तयार रहेको पनि बताए।
‘खुट्टा नभएका व्यक्तिलाई कुद्न सक्ने बनाउनु निकै ठूलो सेवा हो,’ उनले भने, ‘नेपालमा बढ्दो दुर्घटनामा हातखुट्टा गुमाउने धेरै छन्। त्यसकारण यस्ता सामग्री उपलब्ध गराउँदै नयाँ जीवन दिने संस्थाको आवश्यकता छ।’
नेपालका लागि भारतीय राजदुत मन्जिभ सिंह पुरीले खुट्टा नभएकालाई यस्ता सामग्रीले हिँडडुल गर्न मात्र नभई आम मानिस सरह सामान्य जीवन जिउनेदेखि काम गर्न मद्त गर्ने बताए।
कार्यक्रममा भगवान् महावीर अपाङ्गता सहायता समितिका निर्देशक सतिश मेहताले संस्थामार्फत वर्षमा ८० हजारको कृत्रिम खुट्टा प्रत्यारोपण गर्ने गरेको जानकारी दिए। उनले संस्थाले हालसम्म अहिलेसम्म १७ लाख बढीको कृत्रिम खुट्टा प्रत्यारोपण गरिसकेको बताए।
'संस्थाले हाल विभिन्न ३० देशमा काम गरिरहेको छ,' उनले भने, 'दक्षिण एशियामै पहिलो शिविर नेपालमा भएको हो।'
फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले नवलपुरमा ५०० जनाको कृत्रिम खुट्टा प्रत्यारोपण गर्ने जानकारी दिए। उनले गैँडाकोटमा रहेको सहज सामुदायिक अस्पतालसँगको सहकार्यमा प्रत्यारोपण शिविर चलाउन लागिएको बताए। उक्त अस्पताललाई कृत्रिम खुट्टा प्रत्यारोपणको स्थायी केन्द्र बनाउने योजना रहेको समेत चौधरीले बताए।
