चितवन- नेशनल सिटी अस्पतालले आफ्नै जमिनमा नयाँ भवन बनाउने भएको छ। भरतपुर चौविसकोठी नजिकै अस्पताल रोडमा बन्ने भवनको आज (सोमबार) एक कार्यक्रमबीच अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर निर्मल लामिछानेले भवनको शिलान्यास गरेका छन्।
अस्पताल संचालक समितिका अध्यक्ष प्रचण्डलाल प्रधानका अनुसार नौ कठ्ठा दश धुर क्षेत्रफलको जमिनमा सय शय्याको अस्पताल बनाइने छ।
नयाँ भवन साढे पाँच तल्लाको हुने छ। भवन १८ महिनासम्म निर्माण भइसक्ने लक्ष्य राखिएको छ।
अस्पतालका प्रशासनिक प्रमुख विक्रम अधिकारीले चितवनमा नै पहिलो पटक भवन निर्देशिका अनुसार निजी अस्पतालको भवन बन्न लागेको बताए। उनले भने – 'चितवनका निजी अस्पतालहरुमध्ये हामिले सरकारी निर्देशिका भित्र रहेर भवन निर्माण गर्न लागेका छौँ, हामीले निर्माण गर्ने भवन सरकारी मापदण्ड अनुसारको जग्गा र संरचना बन्ने छ।'
२०६४ सालबाट नारयणगढमा स्थापना भएको हस्पिटल २०७२ सालमा स्थानान्तरण भईं चौविसकोठिको अस्पताल रोडबाट सेवा दिँदै आएको छ। पब्लिक कम्पनीका रुपमा संचालित अस्पतालमा २०६ जनाको सेयर रहेको छ।